सन्देश श्रेष्ठ
पोखरा, चैत २
पोखरामा अन्र्तराष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा यहि चैत ५ गतेदेखि ७ गतेसम्म पोखरामा ‘२१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता) २०२६’ हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिता संयोजक सुनिलबहादुर भट्टराईले जानकारी दिए ।
प्रतियोगितामा एकलतर्फ पुरुष र महिला एक्युरेसी तथा समूहगत प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगितामा नेपालसहित ७ भन्दा बढी देशका करीब एक सय जना खेलाडी सहभागी हुने जनाइएको छ । उनका अनुसार प्रतियोगितामा आयोजक नेपालसहित भारत, चीन, मलेसिया, थाईल्याण्डलगायतका देशका प्याराग्लाईडिङ पाइलटहरुले प्रतिष्पर्धाका लागि नाम दर्ता गराइसकेका छन् । प्रतियोगितामा सहभागी हुन यूरोपका विभिन्न देशका १५ भन्दा बढी खेलाडीले नाम दर्ता गराए पनि मध्यपूर्वी एसियामा देखिएको तनावका कारण उनीहरुले नाम रद्द गरेको उनले जानकारी दिए ।

पोखरा–१८ सराङकोटबाट उडान (टेकअफ) र खपौंदीमा अवतरण (ल्याण्डिङ) हुनेगरी प्रतियोगिता सञ्चालन हुने उनको भनाई छ । प्रतियोगितालाई सुरक्षित बनाउन आवश्यक सुरक्षा प्रवन्ध मिलाईने प्रतियोगिताको सुरक्षा निर्देशक योगेश भट्टराईले जानकारी दिए । पहिलो त यो प्रतियोगिता निश्चित क्षेत्रमा मात्रै हुने भएकाले जोखिम कम हुने उनले बताए । यस प्रतियोगितामा लामो दुरी वा उच्च उचाई लिन आवश्यक छैन र पाईंदैन पनि,उनले भने,‘सराङकोटबाट उडेर सिधै खपौंदीमा ल्याण्डिङ हुने भएकाले सुरक्षा जोखिम हुँदैन ।’ यद्वपी सम्भावित दुर्घटनाबाट बच्नका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा उद्दार (रेस्क्यू) टोली तैनाथ गरिने उनले जानकारी दिए । ‘त्यसबाहेक सम्भावित दुर्घटनालाई मध्यनजर गरेर उडान र अवतरण हुने दुबैतर्फ चिकित्सकसहितको मेडिकल टिम र एम्वुलेन्स तथा अवतरण क्षेत्रमा फेवाताल भएकाले मोटरबोटसमेत तयारी अवस्थामा राखिनेछ’–उनले भने ।
साहसिक खेलको विकास गर्दै पर्यटनको राजधानी पोखराको पर्यटन प्रवद्र्दन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक भट्टराईले बताए । ‘यसले प्याराग्लाईडिङ खेलको विकास गर्नेछ भने सँगै पर्यटन आकर्षित गरेर पोखरालाई खेल पर्यटनको केन्द्रको रुपमा स्थापित गर्न मद्दत गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं’–उनले भने ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन वोर्ड प्रदेश कार्यालय गण्डकीका प्रमुख मणिराज लामिछानेले प्याराग्लाईडिङ प्रतियोगिताले पर्यटनमा नया आयाम थप्ने विश्वास व्यक्त गरे । पर्यटन चलायमान गराउन यस्ता प्रतियोगिताहरु भइरहनु आवश्यक छ,उनले अगाडि थपे,‘पोखरालाई ईभेन्ट नै ईभेन्टहरुको सहर बनाउनुपर्छ । जति धेरै ईभेन्ट भयो त्यति धेरै पर्यटक भित्रिने हो ।’ उनले प्रतियोगिताका लागि नेपाल पर्यटन वोर्डको सहयोग रहने बताए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई एक लाख र तृतीय हुनेलाई ५० हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने ‘ना’का अध्यक्ष अनिल केसीले जानकारी दिए । त्यस्तै, महिलातर्फ प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने उनले जानकारी दिए । यसैगरी, समूहगत प्रतिष्पर्धामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष केसीले बताए ।
प्रतियोगितालाई नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन वोर्ड प्रदेश कार्यालय गण्डकी, पोखरा महानगरपालिका, प्रदेश खेलकुद परिषद्लगायतको सहयोग रहने ‘ना’का महासचिव बलराम आचार्यले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






