पोखराको चुरुङ्गामा जिल्लास्तरीय भजन गायन प्रतियोगिता हुने


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०८२ मा प्रकाशित




चैते दशैंको छेको पारी पोखरामहानगरपालिका वडा नं. १९ चुरुङ्गामा जिल्लास्तरीय भजन गायन प्रतियोगिता हुने भएको छ ।

चुरुङ्गामा अवस्थित प्राचिन दुर्गामन्दिर एवं गौरीशंकर ब्रह्मविद्यापीठको प्राङ्गणमा हालै पुर्ननिर्माण गरिएको दुर्गा पाञ्चायन मन्दिरको दोस्रो वार्षिकोत्सवसँगै जिल्लास्तरीय भजन गायन प्रतियोगिताको तयारी शुरु गरिएको मन्दिरका कार्यबाहक अध्यक्ष शंकर गौतमले जानकारी दिए । यही चैत ११ गते हुने प्रतियोगितामा जिल्ला बाहिरका सहित करिब १५ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक सन्दीप केसीले बताए । उनका अनुसार कार्यक्रमलाई व्यवस्थित गर्न बिभिन्न संघ संस्था, आमा समुह, धार्मिक संस्था लगायतसँग सहकार्य भईरहेको छ । पत्राचार देखि आन्तरिक व्यवस्थापनको कार्यलाई तिब्र बनाईएको उनले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय लोक भजन चुड्का संरक्षण अभियान कास्कीको विशेष प्रस्तुति रहने बताईएको छ । महेश गुरुकुल, देवघाटका प्राचार्य फणिन्द्रराज पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा बिभिन्न धार्मिक संघ संस्थाको सहभागिता रहने मन्दिर पुर्ननिर्माण समितिका सचिव विकास गौतमले बताए ।शताव्दी पुरानो सो मन्दिर केही वर्ष अघि मात्र पुर्ननिर्माण गरिएको थियो । २ करोड ५० लाखको लागतमा पुर्ननिर्माण गरी मन्दिरलाई व्यवस्थित र आर्कषक बनाईएको छ । मन्दिर संचालनका लागि गतवर्ष आयोजना गरिएको महायज्ञबाट १ करोड १६ लाख संकलन भएको थियो । संकलित रकमबाट खर्च कटाएर बाँकी रहेको ६१ लाख हाल कोषमा राखिएको महायज्ञ व्यवस्थापन समितिका महासचिव रहेका गौतमले जानकारी दिए ।

मन्दिरको संरक्षक १ हजार ८ स्वामी रमानानन्द गिरी महाराज छन् । उक्त मन्दिरमा बडा दशैं, चैते दशैं लगायतका पर्वमा भक्तजनको घुँईचो लाग्ने गर्दछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।