गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले देशको समग्र आर्थिक तथा सामाजिक रूपान्तरणमा आमा समूहहरूको भुमिका महत्वपूर्ण रहेको बताएका छन्।
एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिका जुग्लेमा आयोजित आमा समूहका सदस्यहरूका लागि नेतृत्व विकास कार्यक्रममा बोल्दै मन्त्री थापाले आमा समूहहरू समुदायस्तरमा सामाजिक जागरण, एकता, सहकार्य र परिवर्तनका प्रमुख आधार बनेको उल्लेख गरे । उनले विशेषगरी ग्रामीण क्षेत्रमा आमा समूहहरूले महिला सशक्तीकरण, सामाजिक विकृति न्यूनीकरण, आयआर्जन तथा सामुदायिक विकासमा प्रभावकारी भूमिका खेल्दै आएको बताए ।मन्त्री थापाले समुदायस्तरमा महिलाको सक्रिय सहभागिता सुनिश्चित नगरी दिगो विकास सम्भव नहुने स्पष्ट पार्दै सरकारले जनचाहना अनुसार महिला लक्षित कार्यक्रम, सीप विकास, उद्यमशीलता प्रवद्र्धन तथा नेतृत्व विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
उनले पछाडि परेका वर्ग, ग्रामीण भेगका नागरिक तथा लक्षित समुदायको जीवनस्तर उकास्न प्राविधिक शिक्षा, सीपमूलक तालिम र आयआर्जनसँग जोडिएका कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाइएको पनि बताए । साथै, आमा समूहहरूलाई केवल सामाजिक कार्यमा सीमित नराखी विकासका साझेदार संस्थाका रूपमा अघि बढाउन आवश्यक रहेकोमा उनले जोड दिए।आँधीखोला गाउँपालिकाका उपाध्यक्ष सीता थापाले प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य र समन्वयमा विकासका कार्यक्रम सञ्चालन गरेको बताउँदै नागरिकको आवश्यकता अनुसार तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइन् । एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले समयसँगै समुदायका आवश्यकता परिवर्तन भइरहेकाले आमा समूहका पदाधिकारी तथा सदस्यहरूमा प्रभावकारी नेतृत्व, योजना निर्माण, निर्णय क्षमता, समन्वय र व्यवस्थापनसम्बन्धी सीप आवश्यक रहेको बताए।
कार्यक्रममा अधिवक्ता कुञ्जना परियार प्यासीले महिला सशक्तीकरण, नेतृत्व विकास, कानूनी ज्ञान र सकारात्मक सोच सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरिन् । त्यसैगरी प्रदेश अस्पताल स्याङ्जा अन्तर्गत एकद्वार संकट व्यवस्थापन केन्द्रकी प्रमुख गीता न्यौपानेले महिला हिंसाको अवस्था, उद्धार र पुनस्र्थापनामा प्रदेश सरकारले खेलेको भूमिकाबारे सहजीकरण गरिन् । कार्यक्रमअन्तर्गत सहभागी महिलाहरूलाई जीवन विज्ञान केन्द्र स्याङ्जाद्वारा योग, ध्यान र सकारात्मक सोचसम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ । कार्यक्रममा जागृति आमा समूहकी अध्यक्ष तारा पौडेल र जुग्ले आमा समूहकी अध्यक्ष मिलन कार्कीले यस्ता कार्यक्रमले महिलाहरूको बहुआयामिक क्षमता विकासमा टेवा पुगेको बताए।
महिलाहरुको बाक्लो सहभागिता रहेको उक्त कार्यक्रममा महिला अधिकार र सशक्तीकरणसम्बन्धी गीत, कविता तथा नृत्य प्रस्तुत गर्ने सहभागीहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम सञ्चालन स्मृति काफ्लेले गरेकी थिइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





