पोखरा रात्रि दौड प्रतियोगितालाई फिस्टेल ड्रिम पार्कको साथ


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०८२ मा प्रकाशित




पोखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन दौड प्रतियोगितालाई फिस्टेल ड्रिम पार्कले पनि साथ दिने भएको छ ।

पोखरा–१७ सीतापाइलास्थित महतगौँडामा रहेको पार्क र प्रतियोगिता आयोजक बीच बुधबार एक समारोहका बीच सहकार्य सम्झौता भएको हो । प्रतियोगिता संयोजक दिननाथ बराल र पार्कका जनरल म्यानेजर अंकितकुमार सिंहबीच सम्झौता भएको हो । प्रतियोगितामा सहभागी उत्कृष्ट २० धावकलाई एकहजार मूल्य बराबरको टिकट निःशुल्क उपलब्ध गराइने, सहभागी धावकलाई पार्क प्रवेश तथा विभिन्न वाटर खेलहरूमा ३० प्रतिशत छुट प्रदान गरिने भएको छ । प्रतियोगितालाई सफल पार्न उक्त इभेण्टमा जोडिन पाउदा निकै खुसि लागेको बताउदै जनरल म्यानेजर सिंहले पोखराको नयाँ इभेण्ट भएकाले पार्कको समेत थप प्रमोशन हुने विश्वास व्यक्त गरे ।

करिब चार वर्षअघि सञ्चालनमा आएको फिस्टेल ड्रिम पार्कमा हालसम्म ४५ करोड रुपैयाँ लगानी भइसकेको र थप ५५ करोड लगानीसहित पाँचतारे होटल सञ्चालन गर्ने योजना अघि बढाइएको जनाइएको छ । गर्मी मौसम सुरु भएसँगै पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएकाले रात्रिकालीन दौड प्रतियोगितासँगको सहकार्यले पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा “जाग्छ पोखरा, दौडाउँछ पोखरा” नारासहित आयोजना हुने यस नाइट रनका लागि अनलाइन दर्ता खुला गरिएको र पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत फारम भर्न सकिने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य, पोखरा–९ को समन्वय तथा विभिन्न संघसंस्थाको सहयोगमा आयोजना हुने प्रतियोगितामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर र नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा रहेका छन् ।

पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५÷०२६ प्रतियोगिताको प्रबद्र्धकका रुपमा रहेका छन । प्रतियोगिता फेवाताल किनारस्थित बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किमी, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर सम्पन्न हुने छ । ५ किलोमिटर दौडको उक्त रुट पोखरा महानगरपालिकाका वडा नं. ५, ६, ७, ८ र ९ समेट्ने र विजेतालाई नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जानकारी गराएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।