ज्योति विकास बैङ्कद्वारा कालिका माविलाई कम्प्युटर


     एभरेस्ट आवाज    
     चैत्र ६ गते २०८२ मा प्रकाशित




पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयलाई ज्योति विकास बैङ्क, पोखरा शाखाले कम्प्युटर प्रदान गरेको छ ।

बैङ्कको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई १ थान कम्प्युटर हस्तान्तरण गरिएको हो । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा शाखा प्रबन्धक रेशमलाल श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा र शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मालाई कम्प्युटर हस्तान्तरण गरे । सोही विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका श्रेष्ठले बैङ्कले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको र आफ्नै ठाउँको विद्यालयलाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाले कालिकाका पूर्वविद्यार्थीहरूको प्रगति देखेर विद्यालय परिवारले सधैँ गौरव गर्ने बताउँदै प्रतिभाशाली विद्यार्थी उत्पादनमा कालिका लागिरहेको जानकारी दिए । उनले प्राप्त सामग्रीको सदुपयोग गरेर विद्यार्थीको सिकाइको गुणस्तर वृद्धिका लागि पहल गर्ने बताए । शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्माले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेका ज्योति विकास बैङ्कलाई धन्यवाद ज्ञापन गरे ।

विद्यालयकी सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको स्वागतमा भएको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रुपिन्द्र प्रभावीले गरेका थिए । सो अवसरमा बैङ्कका कर्जा अधिकृत दीपेन्द्र शर्मा र सेवाग्राही शाखाकी सविना क्षेत्रीले बैङ्कले दिने सेवासुविधाका बारेमा प्रकाश पारेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।