भाषाविद् प्रा.डा. माधवप्रसाद पोखरेल पोखरामा सम्मानित भएका छन् ।
नेपाली भाषा र साहित्यको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका पोखरेललाई नेपाली भाषा शिक्षक परिषद, कास्कीले एक कार्यक्रमका बिच सम्मान गरेको हो । परिषद, कास्कीको १६औँ साधारण सभाका अवसरमा उनलाई राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, गण्डकी प्रदेशका प्रमुख सुवास पन्त र परिषद्का अध्यक्ष सूर्यप्रसाद लम्सालले मायाको चिनो, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले व्यक्तिको पहिचान र अस्तित्वसँग भाषा गहिरो रूपमा जोडिएको उल्लेख गर्दै विद्यालय तहदेखि नै पठनपाठन तथा सहकार्यकलापहरू नेपाली भाषामै सञ्चालन गर्नुपर्नेमा जोड दिए । सञ्चार, सम्पर्क र संवादमा शुद्ध नेपाली भाषाको प्रयोग अपरिहार्य रहेको उनको धारणा थियो ।
सम्मानित व्यक्तित्व प्रा.डा. पोखरेलले नेपाली भाषा र नेपालको पहिचान एकआपसमा अविच्छिन्न रूपमा जोडिएको बताए । खस भाषाबाट विकसित नेपाली भाषाको ऐतिहासिक पृष्ठभूमि, ध्वनि विज्ञान तथा विकासक्रमबारे विस्तृत जानकारी दिँदै उनले भाषाको संरक्षणमा परिषद्ले खेलेको भुमिकाको प्रशंसा गरे । कार्यक्रममा परिषद्का सल्लाहकार प्राडा रामनाथ ओझा, सहप्रा डा यमनाथ तिमिल्सिना, सहप्रा डा पुण्यप्रसाद शर्मा, भाषाविद् माधवशरण उपाध्याय, उपप्रा डा बोधराज ढकाल, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, एभरग्रिन एकेडेमी पोखराका निर्देशक किरण सापकोटा तथा विज्ञान शिक्षक समाज कास्कीका उपाध्यक्ष सुनिल न्यौपानेलगायतले नेपाली भाषाको विशेष महत्त्वका साथ परिषदले भाषिक अभियानमा महत्वपुर्ण भूमिका खेलेको बताए ।
सोही अवसरमा परिषद्ले आयोजना गरेको माध्यमिक तह कक्षा ११ र १२ स्तरीय निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। प्रतियोगितामा गुरुकुल विद्या सदन, पोखराकी सोनिशा सुनार प्रथम, भद्रकाली माविकी सरिता बिक द्वितीय, मदरल्याण्ड माविकी इक्विटी पौडेल तृतीय तथा केफ माविकी रोजिना अधिकारी सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए। कार्यक्रमको बन्द सत्रमा कोषाध्यक्ष हरिप्रसाद ढुङ्गाना तथा महासचिव शिवहरि सुवेदीद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिएको थियो।
परिषद्का अध्यक्ष सूर्यप्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत परिषद्का वरिष्ठ उपाध्यक्ष विक्रम पौडेल र सञ्चालन महासचिव शिवहरि सुवेदी र सचिव शशीशिशिर ढुङ्गानाले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरुमा नयाँ भर्ना लिन अन्तरिम आदेश…






