गण्डकी प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुको सम्बोधन : भने ,’विगतमा राज्य सञ्चालनमा कमजोरी भयो, अब सुध्रिन्छौं’


     एभरेस्ट आवाज    
     चैत्र ८ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, चैत ८

गण्डकी प्रदेश सभामा दलका नेताहरुले राज्य सञ्चालनमा भएको कमजोरी स्वीकारेका छन् । गण्डकी प्रदेश सभाको आईतबारदेखि शुरु भएको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले विगतमा राज्य सञ्चालन गर्दा भएका कमीकमजोरीका कारण वर्तमान अवस्था आएको स्वीकारेका हुन् ।

देशमा भ्रष्टाचार मौलाएको, सुशासन कायम नभएको, परिवारवाद मौलाएको तथा सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धलगायतकाविरुद्द जेनजी पुस्ताले गत भदौ २३ र २४ गते आन्दोलन गरेको थियो । सो आन्दोलनले तत्कालीन केपी ओली नेतृत्वको सरकार अपदस्त गरेर सुशीला कार्की नेतृत्वमा चुनावी सरकार गठन गरेको थियो । र त्यहि सरकारले गत फागुन २१ गते सफलतापूर्वक निर्वाचन गराउनुका साथै सो निर्वाचनबाट पुराना दलहरुलाई पाखा लगाउँदै रास्वपालाई सरकारको म्याण्डेट दिएको छ । सो निर्वाचनमा पुराना दलहरु बढारिदा रास्वपाले भने झण्डै दुई तिहाई मत ल्याएर संसदमा पहिलो दल बनेको छ ।

सोहि चुनावपछि पहिलो पटक बसेको प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका तर्फबाट बोल्दै पूर्वमन्त्री महेन्द्रध्वज जिसीले चुनावी परिणामले दलहरुलाई रियलाईजेसन गर्ने स्थितिमा पु¥याएको बताए । पछिल्लो ८ वर्षको अवधीमा सरकार सञ्चालनमा रहेका दल र तीनका नेताहरुको कमीकमजोरीका कारण सिर्जित समस्या भन्दै अगाडि थपे,‘यो जनमतपछि देशले अप्रत्यासित रुपमा कोल्टे फेरेको छ ।’ तर दलहरु अझै सुधारको बाटोमा नभएको उनको टिप्पणी छ । घटनापछि त्यसले पारेको क्षेतीको अवलोकन र अवस्था बुझ्न अहिलेसम्म पनि गण्डकी सरकार कान्छो जिल्ला नवलपुर नपुगेको गुनासो गर्दै उनले भने,‘यो देख्दा पार्टी र नेतृत्व अहिले पनि करेक्सनको बाटोमा छैन कि जस्तो लाग्छ । घर जलाउँदा सहानुभूति दिन पनि सरकार उपस्थिति भएन ।’

नेकपा एमाले संसदीय दलका तथा पूर्व मुख्यमन्त्री नेता खगराज अधिकारीले विगतमा सरकार सञ्चालन गर्दा शाषक नभई सेवक हुन नसक्दाको परिणाम दलहरुले भोगिरहेको टिप्पणी गरे । त्यो कमजोरीको पार्टीले गम्भीरतापूर्वक समीक्षा गर्ने उनको भनाई छ । हामी शासक होईन, सेवक हुन सकिएको रहेनछ,उनले भने,‘त्यसको सजाय जनताले मतबाट दिएका छन् । जनताले गरेको आलोचना, समीक्षाप्रति हामी नतमस्तकहुँदै सम्मान गर्न चाहन्छौं ।’ विगतमा मूलभुत रुपमा सहि भए पनि जनताको चाहना अनुसार सम्बोधन गर्न नसकेको उनले स्वीकारे । निर्वाचन परिणामले नै जनताको माग सम्बोधन गर्न नसकेको देखाएको बताउँदै उनले भने,‘विगतप्रति पश्चाताप त होईन, तर गल्ती सच्याउने कुरामा प्रण गर्न चाहन्छौं ।’ यो कुरा पहिल्यै थाहा पाउन नसक्दा अहिले पुराना दलहरु फसादमा परेको उनको टिप्पणी छ । यो पहिल्यै महशुष गर्न सकेनौं,उनले एउटा आहान सम्झिदै थपे,‘बेला छँदै टिकटको गरिएन याद, बेला बितेपछि परिगो फसादमा छौं हामी । अहिले महशुष गरेका छौं हामीले । यो पहिल्यै महशुष गर्नुपर्ने थियो ।’

नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता हरिबहादुर चुमानले विगतका सरकारले गरेका कामको जवाफ जनताले चुनावमा अस्वीकार गरेर दिएको बताए । राज्य पुर्नसंरचना नहुँदा सेवा प्रवाह चुस्त नहुनु, अदालती प्रक्रिया झञ्झटिलो, महङ्गो र पीडादायी हुनु, कर्मचारी तन्त्र नफेरिनुलगायतका कारण दलहरुप्रति जनतामा आक्रोष बढ्दा अहिलेको अवस्था आएको उनको भनाई छ । जनताको चुलिएको अपेक्षा पूरा गर्न सकेनौं,उनले थपे,‘भ्रष्टाचार बढेको कुरा छ्याङ्गै छ, यो लुकाएर लुक्दैन, यसलाई हामीले स्वीकार गर्नैपर्छ ।’ विगतका सरकारले लोकतन्त्रको सहि अभ्यास गर्न नसक्दा लोकप्रियतावाद जन्मिएको टिप्पणी गर्दैै उनले गरे । ‘लोकप्रियतावाद लोकतन्त्रकै बाई प्रोडक्ट हो भन्ने मैले सुनेको थिएँ । त्यो लोकप्रियतावादलाई जन्मन बाध्य पार्ने कस्तो लोकतन्त्रको अभ्यास गर्यौं हामीले ? त्यहि लोकप्रियतावादले आज लोकतन्त्रलाई कमजोर बनायो’–उनले भने ।

विगतका कमजोरी स्वीकारे पनि उनीहरुले जेनजी आन्दोलन र चुनावी परिणामप्रति भने संसय व्यक्त गरेका छन् । यद्वपी कमजोरी स्वीकारेर जाने उनीहरुले प्रबिद्दता जनाएका छन् । सदनमा बोल्दै कांग्रेसका जिसीले भने,‘विगतमा कमजोरी भयो, अब करेक्सन गरेर जाऔं ।’ जिसीले जेनजी आन्दोलन र चुनाव ट्रेलर मात्रै भएको बताए । भदौ २४ को घटनालाई अराजनीतिक घटना भन्दै उनले त्यो सत्ता हेरफेर गर्नका लागि भएको बताए । भने,‘नेपालीबाट मात्रै त्यो घटना भएको थिएन । भदौ २४ को आगजनी र तोडफोड तथा भोटिङको प्याट्रन हेर्दा । २४ गतेको घटना पहिलो ट्रेलर मात्रै थियो । फागुन २१ को दोस्रो ट्रेलर थियो । तेस्रो एपिसोड आउनै बाँकी छ । त्यसले मात्र पूर्ण फिल्ममा को हिरो, को खलनायक हो ? र यसको परिणामले मुलुकलाई कहाँ लैजानको लागि हो भन्ने कुरो खोल्छ ।’ तर तेस्रो एपिसोड कहिले र कस्तो रुपमा आउँछ भनेर अहिल्यै भन्न नसकिने उनले बताए । ‘यो पर्ख र हेरबाहेक त हामीसँग अर्को विकल्प छैन ।’

एमालेका अधिकारीले जनताले बुझ्नेगरी सुध्रिएर कमजोरी सच्याउने प्रतिबद्दता जनाए । पार्टी जनताको सुखदुःखको साथी र सेवक भएको बताउँदै उनले भने,‘सेवामा कमीकमजोरी छ भने सुधारेर सहि ढंगले सेवा अगाडि बढाउँछौं ।’ चुनावी परिणामबाट आफूहरु न निरुत्साहित नत उत्साहित रहेको बताए । अकल्पनीय परिणामको भोगाईमा हामी छौं,उनले थपे,हाम्रो सांगठनिक संरचना अरु दलको तुलनामा राम्रो छ भनेर साथीहरुले भनिरहनु भएको छ । तर सांगठनिक संरचनाले, विचार र विकासले मात्रै पनि नहुँदो रहेछ ।’ आन्दोलन र चुनावमा अन्र्तराष्ट्रिय भुराजनीतिक चलखेल भएको उनले बताए । सरकारमा आएको दलबाट प्रदेशका अधिकारमाथि हस्तक्षेप हुनेतर्फ उनले संसय व्यक्त गरे । पछिल्लो गतिविधिले त्यहि संकेत गरेको बताउँदै उनले भने,‘प्रदेशका गतिविधि कुण्ठित गर्ने प्रयास गरियो भने त्यो स्वीकार्य हुँदैन । एकताबद्द भएर हामी प्रतिवाद गर्छौं ।’

नेपाली कम्युनिष्ट पार्टीका चुमानले जनताको निकै पेचिलो र चोटिलो प्रहार चुनावमा भोगेकाले अब दलहरु आत्म आलोचनातर्फ जानुपर्ने बताए । उनले राज्यलाई पनि बलियो बनाउनु बताए । जनयुद्द लड्ने बेलामा राज्य निकै बलियो छ भन्ने लाग्थ्यो,उनले भने,‘तर भदौ २३ र २४ गतेको घटनापछि राज्य कमजोर र निरीह रहेछ भन्ने महशुष भयो । यति निरीह र कमजोर बनाउन र बन्नमा हाम्रो कमजोरीले पनि त काम गर्यो होला ! ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।