एमाले जनसंगठनले पोखरामा जलाए कार्की आयोगको प्रतिवेदन


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, चैत १४

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा एमाले निकट जनवर्गिय संगठनहरुले पोखरामा कार्की आयोगको प्रतिवेदन जलाएका छन् । ओलीलाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरेको विरोधमा एमाले निकट अनेरास्ववियु र युवा संघले आज अपराह्न कार्की आयोगको प्रतिवेदन जलाएका हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे बुझ्न बनाइएको गौरीबहादुर कार्की संयोजकत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई तत्काल पक्राउ गरि कारवाही गर्न सिफारिस गरेको थियो । सो सिफारिस अनुसार आज विहानै ओली र लेखक दुबैलाई प्रहरीले पक्राउ गरिसकेको छ । सो पक्राउपछि ओलीमाथिको पक्राउ पूर्वाग्रहपूर्ण भएको आरोप लगाउँदै ती संगठनले शनिबार प्रतिवेदन जलाएका हुन् ।

प्रतिवेदन जलाउनुअघि विरोध र्यालीसमेत निकालिएको थियो । एमाले कास्की जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली पृथ्वीचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । ¥यालीमा सहभागीहरूले बालेन सरकार मुर्दावाद, गृहमन्त्री सुधन गुरुङ राजिनामा दे, कठपुतली सरकार मुर्दावादलगायतका नारा र आयोगप्रति आक्रोषपूर्ण नाराबाजी गरेका थिए ।

विरोध सभामा बोल्दै अनेरास्ववियु गण्डकीका अध्यक्ष सन्तोष पोखरेलले कार्की आयोगको प्रतिवेदन प्रतिशोध र पूर्वाग्रहपूर्ण भएको आरोप लगाए । घटनालाई तोडमरोड गरेर प्रतिवेदन बनाइएकाले स्वीकार्य नहुने उनको चेतावनी थियो । उनले ओलीलाई विना शर्त रिहा गर्न माग गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।