सन्देश श्रेष्ठ
पोखरा, चैत १५
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जोगाउन आयोजित आन्दोलनमा भदौ २४ गतेको दोषीको खोजी भएको छ । नेकपा एमाले कास्कीको आयोजनामा पार्टी अध्यक्ष ओलीको पक्राउबिरुद्द आईतबार पोखरामा आयोजित विरोध कार्यक्रममा जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी तथा तोडफोडमा संलग्नहरुको खोजी भएको हो । सहभागीहरुले भदौ २३ गतेको दोषी करार गरेर तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिरहँदा भदौ २४ गतेको तोडफोड र आगजनीमा संलग्नहरुलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाए । उनीहरुलाई तत्काल पक्राउ गरि कारवाही गर्न उनीहरुको माग छ ।
ओलीको रिहाईको माग गर्दै आयोजित आन्दोलनमा सहभागी एमाले कार्यकर्ताहरुले राज्य आतंक बन्द गर, केपी ओलीलाई रिहा गर । संसद भवन जलाउनेलाई कारवाही गर, सुरक्षा निकायका भवनहरु जलाउनेलाई कारवाही गर, सरकारी भवन जलाउनेलाई कारवाही गरलगायतका नाराहरु लगाए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले पनि ओलीको रिहाईसँगै भदौ २४ का दोषीमाथि कारवाही गर्न माग गरे । कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की सह–ईञ्चार्ज राजिव पहारीले जेनजी आन्दोलन जाँचबुझ आयोगले एकतर्फी रुपमा प्रतिशोधपूर्ण तरिकाले प्रतिवेदन बनाएको आरोप लगाए । पुराना दलका नेतालाई फसाउनका लागि नियोजित रुपमा प्रतिवेदन बनाइएको बताउँदै उनले भने,‘भदौ २३ गतेको दोषीको रुपमा हाम्रा अध्यक्ष ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई देखाइएको छ, त्यहि आधारमा पक्राउ गरिएको छ, तर भदौ २४ गते भएको सिंहदरबार, संसद भवनदेखि सरकारी कार्यालय र प्रहरी, प्रशासन कार्यालय जलाउनेलाईचाहिं खोई पक्रिएको ? खै कारवाही गरिएको ? ।’ उनले बन्द कोठरीमा बनाइएको प्रतिवेदन मान्य नहुने बताउँदै ओलीमाथि लगाइएको आरोप र धरपकड खारेज गर्न माग गरे ।
एमाले नेता तथा पूर्व सांसद दामोदर पौडेल बैरागीले बालेन सरकारलाई कठपुतली सरकारको संज्ञा दिए । भदौ २४ को तोडफोड र आगजनी गर्नेलाई सरकारले छुट दिएको भन्दै उनले आपत्ती जनाए । यो कसले बनाएको कठपुतली सरकार हो खुल्दै जाला,उनले भने,‘असंवैधानिक सरकारले जाँचबुझ आयोग बनायो, अवैध आयोगले प्रतिवेदन बनायो र त्यहि अवैध प्रतिवेदन अवैध सरकारलाई नै बुझायो र त्यहि आधारमा केपी ओली, रमेश लेखकलगायतबिरुद्द धरपकड शुरु भएको छ, यो गलत हो ।’ उनले सरकारले गरेको धरपडकबिरुद्द सडक र सदनमा आन्दोलनसँगै न्यायिक प्रक्रियामा जाने बताए ।
एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले ओलीलाई अमानवीय र असंवैधानिक तरिकाले गिरफ्तार गरिएको आरोप लगाए । उनले भदौ २४ बारे मौन बसेर २३ मा मात्रै केन्द्रीत भई प्रतिवेदन आउनुले सरकार र आयोगको नियत स्पष्ट भएको टिप्पणी गरे । आयोग गठन गर्नुअघि नै आयोगका संयोजकले व्यक्त गरेका अभिव्यक्तिले उनी स्वतन्त्र व्यक्ति होईन भन्ने पुष्टि भइसकेकाले सो आयोगले तयार गरेको प्रतिवेदन मान्य नहुने उनको भनाई थियो ।
यसैबीच विरोध पत्र बुझ्दै कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले एमालेलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरिन् । कास्कीमा शान्ति सुव्यवस्था कायम गर्न चुस्त सुरक्षा व्यवस्था गरिएकाले त्यसलाई नबिथोल्न उनको आग्रह थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय खेलकुद परिषद्को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ । शिक्षा तथा…





