एसईई परीक्षा बिहीबारबाट,कास्कीमा करिव ११ हजार विद्यार्थी सहभागि हुने


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०८२ मा प्रकाशित




राष्ट्रिय परीक्षा बोर्डले बिहीबारबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षाको तयारी पुरा गरेको छ ।

शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो साता हुनुपर्ने परीक्षा २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण १९ चैतमा धकेलिएको हो । बोर्डका अनुसार परीक्षाको सबै तयारी पूरा भएको छ ।एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले ७७ वटै जिल्लामा परीक्षाको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको बताए । उनका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ । केन्द्राध्यक्षहरु पनि नियुक्त भएर सम्बन्धित केन्द्रमा पुगेका छन् । परीक्षा सञ्चालनका लागि कर्मचारी र सुरक्षाकर्मीको टोली पनि खटिने छ ।परीक्षा सञ्चालन हुनुअघि शिक्षा मन्त्री सस्मित पोखरेल सहित प्रदेश र जिल्लाका सम्बन्धित अधिकारीहरुको भर्चुअल बैठक समेत बसेको छ ।

यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको छ । एउटा केन्द्र जापानमा छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । यस वर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । बोर्डका अनुसार २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसईई परीक्षा दिँदै छन् ।यस वर्षको एसईई परीक्षामा कास्कीमा ३६ परीक्षा केन्द्रबाट १० हजार ८ सय ५६ विद्यार्थी सहभागि हुने छन् । शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका अनुसार छात्र ५ हजार ७ सय २२ र छात्रा ५ हजार १ सय ३३ जना छन् । परीक्षाका लागि पोखरा महानगरमा ३२, अन्नपुर्ण गाउँपालिकामा २, रुपा र माछापुच्छ्रेमा एक एक केन्द्र कायम गरिएको प्रमुख लोकनाथ आचार्यले जानकारी दिए । यसपालिको परीक्षामा कास्कीका १ सय २५ सामुदायिक र १ सय ६८ गरी २ सय ९३ विद्यालयका विद्यार्थी सहभागि हुँदैे छन् ।

गण्डकी प्रदेशमा भने ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागि हुने छन् । गण्डकीमा यसपाली परिक्षार्थीको संख्या भने घटेको छ । अघिल्लो बर्ष ४५ हजार ७ सय ९६ विद्यार्थी सहभागि भएका थिए । एसईईलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्नका लागि बोर्डले सबैलाई आग्रह पनि गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।