भुमे मैदान बहुउद्देश्यीय समुहको साधारण सभा सम्पन्न, बिभिन्न व्यक्ति सम्मानित


     एभरेस्ट आवाज    
     चैत्र २९ गते २०८२ मा प्रकाशित




पोखरा १९ घार्मीमा रहेको भुमे मैदान बहुउद्देश्यीय सामुदायिक समुहले बिभिन्न व्यक्ति र विद्यार्थीलाई सम्मान गरेको छ।

समुहको सम्पन्न सातौं साधारण सभाको अवसरमा पत्रकारिता मार्फत घार्मीको सामाजिक, शैक्षिक, धार्मिक र पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पत्रकार शिशिर पौडेललाई सम्मान गरेको हो।समुहले हरेक वर्ष एकजनालाई प्रदान गरिने विशेष सम्मान यस वर्ष पोखरामा रहेर दुई दशक देखि पत्रकारितामा क्रियाशील पौडेललाई विशेष सामाजिक सम्मान प्रदान गरेको सचिव रामप्रसाद पौडेलले जानकारी दिए।समुहले अघिल्लो वर्ष सो सम्मान सफाई अभियन्ता मानध्वज गुरुङलाई प्रदान गरेको थियो ।

त्यस्तै समुहको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका संस्थापक अध्यक्ष पोषराज पौडेल, निवर्तमान अध्यक्ष रामचन्द्र पौडेल,त्यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याएका समुहका उपाध्यक्ष डिल्लीराम पौडेल र माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्तिर्ण सदस्यका छोरा छोरी सनम पौडेल, प्रमिशा पौडेल, श्रेया पौडेल, आदर्श पौडेल, संघर्ष पौडेल र त्रिशांक पौडेललाई सम्मान गरिएको थियो।कार्यक्रममा समुहमा आवद्ध भई बिभिन्न संघ संस्थामा पदीय जिम्मेवारी सम्हालेका सदस्यलाई पनि सम्मान गरिएको छ ।उनीहरुलाई पोखरा १९ का वडा सदस्य कल्पना सुनार,समुहका अध्यक्ष बैकुण्ठ पौडेलले सम्मान गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा सदस्य सुनारले समुहले छोटो समयमै सामाजिक रुपान्तरणका क्षेत्रमा उल्लेखनीय कार्य गरेको स्मरण गर्दै, सामाजिक एकताले मात्रै समाज विकासको बाटोमा अघि बढ्न सक्ने बताईन्।

अध्यक्ष पौडेलले समुहले गरेका विभिन्न संस्थागत गतिविधिहरुको जानकारी गराउँदै , संस्थागत विकासमा समुदायका हरेक नागरिक बिच एक्यवद्धता, सक्रियता र समान भुमिका आवश्यक रहनेमा जोड दिए । कार्यक्रममा समूहका संस्थापक अध्यक्ष पोषराज पौडेल , निवर्तमान अध्यक्ष रामचन्द्र पौडेल, सम्मानित पत्रकार शिशिर पौडेल, सम्मानित विद्यार्थी संघर्ष पौडेल, घार्मी जनजागरण आमा समुहका सचिव हिरादेवी पौडेल लगायतले समाजको चौतर्फी विकासमा संघ संस्थाको भुमिका र सहकार्य महत्वपूर्ण हुने बताए। सभाले अध्यक्ष पौडेल र कोषाध्यक्ष सुनिता अधिकारी पौडेलले पेश गरेको समुहको बार्षिक प्रतिवेदन पारित समेत गरेको छ।जीवन विज्ञानका योग प्रशिक्षक समेत रहेका निवर्तमान अध्यक्ष रामचन्द्र पौडेलले सहभागीलाई योग सम्बन्धि प्रशिक्षण पनि गराएका थिए।

समुहका अध्यक्ष बैकुण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष डिल्लीराम पौडेलले स्वागत र सहसचिव खेमराज पौडेलले संचालन गरेका थिए। सो अवसरमा एक आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान समेत गरिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।