भद्रकाली क्याम्पसमा वार्षिक खेलकुद कार्यक्रम शुरु


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०८३ मा प्रकाशित




पोखरास्थित भद्रकाली बहुमुखी क्याम्पसमा वार्षिक खेलकुद कार्यक्रम बिहीबारबाट सुरु भएको छ ।

क्याम्पस सञ्चालन समितिका अध्यक्ष जय प्रसाद सापकोटाले भलिबल खेलका प्रमुख रेफ्री दिलीप गुरुङलाई बल हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे । उद्घाटन सत्रको अध्यक्षता गरेका क्याम्पस प्रमुख नवराज रेग्मीले यही १४ गतेसम्म हुने खेलकुदमा सबै विद्यार्थीलाई सहभागी हुन र कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न निर्देशन दिए । तीन दिनसम्म चल्ने खेलकुदमा छात्र र छात्रा दुवै समूहका भलिबल, बास्केटबल, फुटसल, डोरी तान्ने र छेलो खेलहरु समावेश गरिएको क्याम्पसले जनाएको छ । कार्यक्रमको पहिलो दिन बिहीबार छात्रा डोरी तान्ने, छात्रा छेलो, छात्र डोरी तान्ने र छात्र भलिबलका खेलहरु सम्पन्न भएका छन् ।

छात्रातर्फको डोरी तान्ने खेलमा बिबिएस तेस्रो वर्षकी कृति गुरुङको समूहले प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी छात्र डोरी तान्नेतर्फ बिबिएस प्रथम वर्षका सन्तोष तामाङको समूह प्रथम र बिबिएस दोस्रो वर्षका सुनिल कार्कीको समूह दोस्रो भएको छ । छात्र भलिबलमा पनि सन्तोष तामाङकै समूहले प्रथम स्थान हात पारेको छ । यस्तै छात्रा छेलो खेलमा बिबिएस दोस्रो वर्षकी सुस्मिता बराल प्रथम भइन् भने सन्ध्या गुरुङ दोस्रो र बिए दोस्रो वर्षकी मोनिका गुरुङ तेस्रो भएकी छन् । क्याम्पस प्रशासनका अनुसार शुक्रबार छात्र छेलो, छात्रा भलिबल र छात्र(छात्रा बास्केटबलका खेलहरु सञ्चालन हुनेछन् ।

उद्घाटन कार्यक्रममा क्याम्पसका अतिरिक्त क्रियाकलाप संयोजक बुद्धिसागर सापकोटा र सहसंयोजक नरेन्द्र घिमिरेले विभिन्न खेलका संयोजकहरुलाई खेल सामग्री र फाइल हस्तान्तरण गरे । जसमा भलिबलका लागि शिशिर ढुंगाना, बास्केटबलका लागि नरेश तिमिल्सिना, फुटसलका लागि गोविन्द गौतम, डोरी तान्ने खेलका लागि उमेश आचार्य र छेलोका लागि डम्बर क्षेत्रीलाई जिम्मेवारी दिइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।