ग्लोबल एक्सनले गर्यो शैक्षिक अन्तरक्रिया,शिक्षामा २० प्रतिशत लगानी अझै सुनिश्चित हुन सकेन


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०८३ मा प्रकाशित




सार्वजनिक शिक्षामा राज्यले कुल बजेटको २० प्रतिशत बजेट लगानी गर्नुपर्नेमा जोड दिईएको छ ।

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आयोजित अन्र्तक्रियात्मक कार्यक्रममा शैक्षिक गुणस्तर वृद्धी र व्यवस्थापनका लागि स्थानिय, प्रदेश तथा केन्द्रीय सरकारले २० प्रतिशत लगानी सुनिश्चित गर्नुपर्नेमा त्यसो हुन नसकेको बताईएको छ । कार्यक्रममा ग्लोबल एक्सन नेपालका कार्यक्रम निर्देशक श्रीकृष्ण वेंजूले सार्वजनिक शिक्षा सुदृढिकरणको लागि प्रतिवद्धता अनुसार राज्यको तर्फबाट अझै आवश्यक ध्यान पुग्न नसकेको बताए । उनले हाल सार्वजनिक शिक्षामा करिब ११ प्रतिशत मात्रै लगानी भएको तथ्यांक प्रस्तुत गर्दै, शैक्षिक विकासमा तीन तहकै सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । वडा नं. ५ का वडाध्यक्ष नारायण पौडेलले बालबालिकाको सुन्दर भविष्यका लागि शिक्षा पहिलो प्राथामिकता हुनुपर्ने बताए । उनले यस सन्दर्भमा स्थानीय निकायले पनि ध्यान पुर्याउन आवश्यक रहेको बताए ।

आगामी बर्षको बजेट निर्माणका क्रममा यस विषयलाई सम्वोधन गर्ने गरी आफुले पहल गर्ने विश्वास उनले दिलाए । कार्यक्रममा सहभागिहरुले शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारलाई राज्यले उपेक्षा गर्न नमिल्ने बताएका थिए । वडाध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ग्लोबल एक्सन नेपालका कार्यक्रम निर्देशक वेंजूले सहजीकरण गरेका थिए । सोही अवसरमा शिक्षामा लगानी बृद्धिको लागि अनुरोध सहितको ज्ञापन पत्र माछापुच्छ्रे गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यसप्ताह अन्र्तगत ग्लोबल एक्सन नेपालले क्व्होलासोथर गाउँपालिकामा पनि अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

पहार ट्रष्ट नेपालसँगको सहकार्यमा आयोजित कार्यक्रममा गाउँपालिकाका वडा नं. ५, ६, ७, ८ र ९ का विद्यालयका शिक्षकहरुको सहभागितामा रहेको थियो । त्यस क्रममा सहभागि शिक्षकहरुले नेपाल सरकार तथा दातृ निकायहरुलाई आफूले विद्यालयमा भोग्नुपरेको समस्याको आधारमा शिक्षा क्षेत्रमा पर्याप्त, दिगो तथा न्यायोचित लगानीको लागि अपिल सहितको पत्र लेख्ने कार्य समेत भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।