पोखरा ३ मा करेसाबारी तालिम एवं बिउ पूँजी वितरण


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं ३ मा रहेको सृजनशील स्वाबलम्बन कृषि सहकारी संस्थाले कौसी खेती तथा करेसाबारी तालिम एवं बिउ पूँजी वितरण गरेको छ ।

तालिममा १२१ जनाको सहभागि भएका थिए ।मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहकार्यमा भएको तालिममा कम्पनीका प्राविधिकहरूले प्राविधिक सहजीकरण गरेका छन् । तालिमका मुख्य सहजकर्ता मुक्तिनाथ कृषि कम्पनीका अधिकृत मदन कँडेलले सहरी तथा अर्ध(सहरी क्षेत्रमा कौसी खेतीको व्यावसायिक र घरायसी महत्त्वबारे प्रकाश पारे । उनले आधुनिक प्रविधि, कम्पोस्ट मलको सही प्रयोग, रोगव्याधि नियन्त्रण र सीमित ठाउँमा बढीभन्दा बढी उत्पादन लिने वैज्ञानिक तरिकाहरूबारे सहभागीहरूलाई प्रयोगात्मक जानकारी गराए ।

त्यस्तै, सहजकर्ता एवं इन्टर्न सृष्टि पौडेलले करेसाबारी व्यवस्थापन, रैथाने बिउबिजनको जगेर्ना र घरमै उपलब्ध हुने जैविक फोहोरलाई मलका रूपमा कसरी सदुपयोग गर्ने भन्नेबारे व्यावहारिक अभ्यास गराएकी थिईन् । मुक्तिनाथ कृषि कम्पनीको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिमले सहभागी सेयर सदस्यहरूलाई आत्मनिर्भर कृषितर्फ आकर्षित गर्न र विषादीमुक्त ताजा तरकारी उत्पादन गर्न ठुलो मद्दत पुग्ने विश्वास लिइएको छ ।

सृजनशील स्वाबलम्बन कृषि सहकारी संस्थाका अध्यक्ष जगन्नाथ पौडेलले सहकारीले बचत र ऋणको कारोबारमा मात्र सीमित नभई सदस्यहरूको जीवनस्तर उकास्ने उत्पादनमुखी कार्यलाई जोड दिँदै आएको बताए । कार्यक्रमको अध्यक्षता गर्दै पौडेलले सहरी क्षेत्रमा बढ्दै गएको विषादीयुक्त तरकारीको उपभोगलाई न्यूनीकरण गर्न कौसी खेती र करेसाबारी प्रवर्द्धन गर्न लागिएको स्पष्ट पारे । उनले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न र संस्थाले प्रदान गरेको बिउ पूँजीको सही सदुपयोग गरी आत्मनिर्भर बन्न सबै सेयर सदस्यहरूलाई आग्रह समेत गरे ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं। ३ का वडा सदस्य शान्तिदेवी पराजुलीले स्थानीय स्तरमा कृषि उत्पादन बढाउन सहकारीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताईन् । उपभोक्ताहरू बजारको महँगो र असुरक्षित तरकारीमा निर्भर भइरहेका बेला घरकै कौसी र करेसाबारीमा ताजा तरकारी फलाउन यो तालिम कोसेढुङ्गा साबित हुने उनको भनाइ थियो । वडा सदस्य पराजुलीले वडा कार्यालयका तर्फबाट पनि यस्ता उत्पादनमुखी र महिला लक्षित सीपमूलक कार्यक्रमहरूलाई आगामी दिनमा थप प्रोत्साहन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले अबका वर्षमा वडाबाट यस्ता कार्यको लागि वजेटको व्यवस्था गर्न अग्रसर हुने बताईन् ।

संस्थाका लेखा संयोजक फडिन्द्र पौडेलले सहकारीको पुँजीलाई उत्पादनशील र सीपमूलक क्षेत्रमा परिचालन गर्दा मात्रै संस्था र सदस्य दुवैको हित हुने विचार व्यक्त गरे । उनले संस्थाले प्रदान गरेको बिउ पूँजी सानो देखिए पनि यसले उद्यमशीलताको सुरुवात गर्न ठुलो ऊर्जा दिने विश्वास व्यक्त गरे । आर्थिक पारदर्शिता र उत्पादनमुखी लगानी संस्थाको प्राथमिकता रहेको चर्चा गर्दै संयोजक पौडेलले तालिमपश्चात् सदस्यहरूको करेसाबारी र कौसीको अनुगमन गरी उत्कृष्ट कार्य गर्नेलाई थप प्रोत्साहित गरिने जानकारी समेत दिए ।

सहकारीकी लेखा समिति सदस्य गीता कुँवरले सीमित ठाउँ र स्रोतसाधनको प्रयोग गरेर पनि घरपरिवारका लागि आवश्यक पर्ने हरियो तरकारी सहजै उत्पादन गर्न सकिने बताईन् । उनले कौसी खेती र करेसाबारी व्यवस्थापन गर्दा घरको फोहोर व्यवस्थापनमा समेत मद्दत पुग्ने उल्लेख गरिन् । तालिमका सहभागीहरूलाई बिउ पूँजी वितरण गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।