ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै कास्कीका गुरुङ दाजुभाइ


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०८३ मा प्रकाशित




कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र झाडीले भरिएको थियो । धानबालीसमेत खासै फस्टाउँदैनथ्यो । तर हिजोआज त्यही ठाउँ प्रकृतिसँग रमाउँदै ट्राउट माछाको स्वाद लिने आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

‘ज्ञान र सीप सिकेर स्वदेशमै फर्क साथी, त्यही सीपले देश उठाउनुछ माथि’ भन्ने सन्देशमूलक सोचका साथ २०६७ सालमा जापान र बेलायतको सेवासुविधा त्यागेर स्वदेश फर्किएका दुई दाजुभाइले सुरु गरेको ‘गण्डकी ट्राउट फार्म’ पछिल्लो समय मनग्य आम्दानी र रोजगार सृजनाको आधार बनेको हो । भारतीय सेनाबाट अवकाशप्राप्त भई लामो समय जापान बस्दै आएका कास्की रिभानका अमृत गुरुङ र धान्द्रुकमा जन्मी हङ्कङ, बेलायतको व्यापार व्यवसाय त्यागेर नेपाल फर्किएका लच्छीन गुरुङले सो फार्म सुरु गरेका थिए । उनीहरूबीच एउटा साझा सोच मिल्यो, ‘विदेशमा सिकेको ज्ञान र सीपलाई स्वदेशमै उपयोग गर्ने ।’

आफ्नै गाउँठाउँमा केही नयाँ व्यवसाय गर्ने अठोटका साथ नेपाल फर्किएका उनीहरूले पोखरा र आसपासमा ट्राउट माछापालनको सम्भावना खोजे । अन्ततः माछापुच्छ्रे–३ स्थित मूलको चिसो पानी र न्यूनतम १६ र अधिकतम १८ डिग्री सेल्सियस तापक्रम भएको स्थान ट्राउट माछाका लागि उपयुक्त देखेपछि २२ रोपनी जग्गा खरिद गरेर व्यवसाय सुरु गरेका थिए । दुईवटा पोखरीबाट सुरु गरिएको गण्डकी ट्राउट फार्म आज विस्तार हुँदै ६० वटा पोखरीसम्म पुगेका छन् । तत्कालीन गण्डकी अञ्चलमै पहिलोपटक सुरु गरिएको यो ट्राउट फार्म अहिले सफल उदाहरणका रूपमा स्थापित भएको छ । यो प्रयास अहिले सबैका लागि उदाहरणीय बनेको छ । विदेशमा अवसर खोज्ने युवाका लागि यो त झनै फार्मले प्रेरणा दिएको छ ।

विशेषगरी ट्राउट माछा ओमेगा–३ पोषकतत्वले भरिपूर्ण हुन्छ, जसमा नरम काँडा भएका कारण ज्येष्ठ नागरिक र बालबालिकालाई पनि खान सजिलो हुनुका साथै जुन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यही कारणले गर्दा यो ट्राउट फार्म पछिल्लो समय पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्ने गरेको छ । दैनिक चार सय बढी पाहुना यहाँ आउने गर्छन् । शनिबार भने यो सङ्ख्या एक हजार ५०० नाघ्ने गरेको सञ्चालक लच्छीन गुरुङ बताउछन् । फार्ममा एक केजी माछा पकाएको एक हजार ७०० लिने गरेको उनले बताए । गुरुङले भने , “रेष्टुरेन्टसँगै आरामदायी कटेज पनि व्यवस्था गरिएको छ । रातमा बस्ने पाहुना थपिए भने पालको समेत व्यवस्था गरिन्छ, जसले पर्यटक थप आकर्षित हुने गरेका छन् ।”

वार्षिक तीन करोड रुपैयाँबराबरको २५ टन माछा उत्पादन हुने गरेको उनले बताए । उमेरले ६६ वर्षीय लच्छीन भन्छन् , “फार्ममा अहिलेसम्म सात करोड लगानी भइसकेको छ । चौबीस जनाले दैनिक र १० जनाले अप्रत्यक्ष रूपमा रोजगार प्राप्त गरेका छन् ।”माग अत्यधिक भएपछि आफ्नै उत्पादनले मात्र अपुग हुने हुँदा आसपासका अन्य फार्मबाट पनि माछा खरिद गर्ने गरेको उनको भनाइ छ । यसबाहेक भुरा उत्पादनका लागि धान्द्रुकमा २५ लाख रुपैयाँ लगानीमा भुरा उत्पादनका लागि ह्याचरी निर्माण गरी सञ्चालनमा ल्याइएको छ । अमृत भने ६५ वर्षका भए । उनीहरुको यो व्यवसायलाई निरन्तरता दिन परिवारको पूर्ण सहयोग रहेको अमृतले बताए । उनका अनुसार नेपाल सरकार र विभिन्न स्वदेशी तथा विदेशी सङ्घसंस्थाबाट पनि राम्रो सहयोग मिलेको छ ।

पोखरा आउने दुई प्रतिशत पर्यटक सो क्षेत्रमा पुर्याउन सकेमात्र पनि पर्यटकको एक दिनको बसाइ लम्ब्याउन र थप रोजगार सृजना गर्न सकिने उनले बताए । सो स्थानसम्म पुग्न पोखरा पुरानो बजार महेन्द्रपुलबाट नदीपुर, बगर, लामाचौर अकला, पुरन्चौर हुँदै लगभग १७ किलोमिटर दूरी छ । प्रकृतिसँग रमाउँदै स्वादिलो ट्राउट माछा चाख्न पाइने यो स्थान अहिले केवल व्यवसायमात्र होइन, आत्मनिर्भरता र प्रेरणाको केन्द्र बनेको सो फार्ममा पुग्ने जोकोही बताउँछन् । यहाँ परम्परागत लिङ्गे, चारपिर्के पिङ, पौडीपोखरीलगायत मनोरञ्जनका सामग्री पनि राखिएका छन् । जसका कारण टिकटकलगायत सामाजिक सञ्जालमा रमाउनेहरू पनि यहाँ आउने गर्छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।