स्वास्थ्य बीमा कार्यक्रम चरम संकटमा, सेवा प्रदायकलाई १८ अर्बभन्दा बढी भुक्तानी गर्न बाँकी


     एभरेस्ट आवाज    
     जेठ १४ गते २०८३ मा प्रकाशित




चरम संकटमा परेको स्वास्थ्य सेवा बीमा कार्यक्रममा १८ अर्बभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ ।

नागरिकको स्वास्थ्य उपचारलाई सहज र पहुँचयोग्य बनाउन सरकारले सञ्चालन गरेको बीमा कार्यक्रममा चैत मसान्तसम्म स्वास्थ्य बीमा बोर्डअन्तर्गत अनुमानित १८ अर्ब ३१ करोड ५१ लाख ९२ हजार ७३० रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको हो । चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ विनियोजन भएको थियो । तर, बिमा दाबी भुक्तानीतर्फको बक्यौता बढ्दै जाँदा कार्यक्रमको प्रभावकारितामाथि चुनौती थपिएको छ । स्वास्थ्य, खाद्य तथा स्वच्छता मन्त्रालयका अनुसार, चालु आर्थिक वर्षमा नेपाल सरकारबाट प्राप्त कुल ११ अर्ब ७५ करोड रुपैयाँमध्ये हालसम्म १२ हजार दाबी भुक्तानी गरिएको छ । तर, अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा समयमै रकम भुक्तानी हुन नसक्दा बक्यौता रकम लगातार बढिरहेको उल्लेख गरिएको छ ।

बक्यौता रकम उच्च हुँदा स्वास्थ्य संस्थाबाट प्रवाह हुने बिमित सेवामा असर पर्न सक्ने चिन्ता समेत व्यक्त गरिएको छ । मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउन अनलाइन प्रणालीको प्रयोग, दोहोरो दाबी नियन्त्रण तथा वास्तविक विपन्न नागरिकसम्म सेवा पहुँच सुनिश्चित गर्ने कार्य भइरहेको जनाएको छ । संकट चुलिदै गएपछि बोर्डले यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुने उल्लेख गरेको छ ।

ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित भए पनि आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।