भूमि समस्या समाधान आयोगको अध्यक्षमा कास्कीका बास्तोला नियुक्त


     एभरेस्ट आवाज    
     जेठ १९ गते २०८३ मा प्रकाशित




सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको रिक्त पदहरूमा नयाँ नियुक्ति गर्दै बास्तोलालाई अध्यक्षको जिम्मेवारी दिएको हो । आयोगका सदस्यहरूमा काठमाडौँका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौँकी डा. रोना श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सरकारले आयोगका रिक्त पदहरूमा नियुक्ति गर्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि आयोगको कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ। बैठकले युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्रामबाट ओजन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेललाई एआईजी पदमा बढुवा गर्ने र गत २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिनले थप गर्ने समेत निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।