एमालेको राष्ट्रिय कार्यशाला सुरु, सरकारलाई उत्ताउलो नबन्न अध्यक्ष ओलीको सुझाव


     एभरेस्ट आवाज    
     जेठ २० गते २०८३ मा प्रकाशित




नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यशाला उदघाटन गरेका छन् ।२१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् । कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारलाई उत्ताउलिएर धेरै अघि नबढ्न चेतावनी दिएका छन्। उनले सरकार पूर्वाग्रही ढङ्गले अघि बढेको आरोप लगाए ।विभिन्न राजनीतिक शक्तिहरूको भूमिका, उनीहरूका गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमलाई सही ढङ्गले बुझ्नुपर्ने आवश्यकता रहेको बताए । वर्तमान परिस्थितिको गहिरो समीक्षा गर्दै पार्टीलाई आगामी चुनौती सामना गर्न सक्षम र सङ्गठित बनाउने दिशामा कार्यशाला केन्द्रित हुने बताए । उनले भदौ २३(२४ गतेको आक्रमण राष्ट्रियता र देशभक्तिविरुद्धको आन्दोलन भएको जिकिर गरे ।ओलीले सो घटना आकस्मिक आक्रोशबाट सृजित मात्र नभएको दाबी गरे ।असंगठित रूपमा निस्किएका जेनजी युवाहरूलाई ढाल बनाइएको ओलीको भनाई छ । त्यसका आधारहरू पनि घटनाक्रमले पुष्टि गरेको उनले बताए । गत फागुनको निर्वाचन तमासामात्र भएको भन्दै ओलीले परिणाम पूर्वनिर्धारित भएको दावी गरे ।

उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै ढङ्गले पार्टी चल्न नसक्ने निष्कर्ष सुनाएका छन् । उनले अध्यक्ष केपी ओलीकै सामु पार्टी पुनर्गठनको विकल्प नभएको बताए । उनले कार्यदलको प्रस्ताव अनुसार सचिवालय र केन्द्रीय कमिटीमा थप छलफल गरेर पुनर्गठनबारे निर्णय लिने बताए । पौडेलले प्रतिनिधिसभाको चुनावबाट पार्टीले इतिहासको सबैभन्दा ठूलो धक्का खाएको पनि बताए । धूलो टकटकाएर फेरि कम्युनिस्ट आन्दोलनलाई उठाउने बताउँदै, उनले जनतासँग पार्टीको सम्बन्ध टुटेको स्वीकारे गरे।नेता भानुभक्त ढकालले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै जनताको केन्द्र बनाउन लाग्नुपर्ने बताए। नेता विशाल भट्टराईले अनैतिक रूपमा पार्टीमाथि हमला भइरहेको बताए । उनले पार्टीमाथि गरिएको हमलाले नपुगेर पपुलिष्टहरू देशका विरुद्ध हमलामा उत्रिएको बताए।

काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरिएको राष्ट्रिय कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी छन् । पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू उपस्थित रहेको एमालेले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।