सन्देश श्रेष्ठ
पोखरा, जेठ २५
पोखरा बसपार्कका सुकुमबासी बस्ती हटाउन पोखरा महानगरपालिकाले ताकेता गरेको धेरै भयो । पहिलो पटक ३५ दिने सूचना निकालेको महानगरले दोस्रो र तेस्रो पटक १५/१५ दिने सूचना निकालिसकेको छ । यसबिचमा महानगरले अन्तिम पटक ७२ घण्टे सूचना निकालेर घर खाली गर्न भनेको थियो । त्यो अवधी सकिएको पनि १६ दिन बितिसकेको छ ।

यसबिचमा महानगरले डोजर चलाउने हल्ला धेरै चलिसकेको छ । सुकुमबासी बस्तीमा आजै डोजर चल्ने, भोलि नै चल्ने भनेर सामाजिक सञ्जालमा हल्ला फैलाउने काम पनि भइरहेको छ । जसले स्थानियमा त्रास र आतंक सिर्जना गरेको छ । तर जति नै हल्ला चलाएर आतंक र त्रास सिर्जना गरे पनि महानगरपालिकाले तत्काल सुकुमबासी बस्तीमा डोजर नचलाउने भएको छ । बरु बसपार्कमा रहेका सुकुमबासीका नाममा हुकुमबासीले ओगटेका सटरहरुमा भने डोजर चलाउने तयारीमा महानगर रहेको स्रोत बताउँछ । जहाँ अधिकांश व्यवसायीले सटर खाली गरिसकेका छन् । महानगर स्रोत भन्छ,‘खाली भएका सटर हटाउने तयारी हो । त्यसले सुकुमबासीलाई मनोवैज्ञानिक रुपमा घर खाली गर्न दवाब पुगोस् भन्ने पनि महानगरको देखिन्छ ।’
स्थानिय सुकुमबासी पनि तत्काल डोजर नचल्नेमा ढुक्क छन् । त्यहि भएर अहिलेसम्म सुकुमबासी बस्तीका एकाधबाहेक अरु कसैले पनि घर खाली गरेका छैनन् । र उनीहरु तत्काल घर खाली गर्न तयार पनि छैनन् । सामाजिक सञ्जालमा हल्ला चलेजस्तो त्यहाँ न सामान सार्नेको चटारो छ नत घर खाली गरेर बसाईं सर्नेहरु नै देखिन्छ ।
यसबिचमा केहि घरका सामानहरु सारेको भने पाइएको छ । तर घरधनीले नभई घर भाडामा बस्नेले सामान सारेको स्थानियको दाबी छ । हुन पनि सुकुमबासी बस्तीमा गएर हेर्ने हो भने अधिकांश सुकुमबासीहरु घर खाली नगर्ने मूडमा भेटिन्छन् । उनीहरु महानगरले वैकल्पिक व्यवस्था गरेपछि मात्रै घर खाली गर्न तयार हुने बताउँछन् । त्यसमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि तयार रहेको स्थानिय सुकुमबासी बुद्धिबहादुर विकले बताए । मेयरले पनि वैकल्पिक व्यवस्था नगरी नहटाउने भनेर वचन दिनुभएको छ,उनले भने,‘सायद उहाँ वचनमा पक्का हुनुहुन्छ भन्ने लागेको छ । हामी त्यत्तिकैचाहिं छाडेरचाहिं जाँदैनौं ।’ तर वैकल्पिक व्यवस्था भएको खण्डमा भने राजीखुशी घर खाली गर्ने उनको भनाई छ । वैकल्पिक व्यवस्था हुने हो भने महानगरले भनेको भोलिपल्टै घर खाली गर्छौं,उनले भने,‘महानगरले छानविन गर्छ भने गरोस् तर बास्तविक सुकुमबासीलाई जग्गा र घर बनाएर मात्रै सार्नुपर्छ ।’
अर्का स्थानिय खलील मियाले मेयरसँग वैकल्पिक व्यवस्था गर्ने र त्यसपछि मात्रै घर खाली गर्ने सहमती भइसकेकाले आफूहरु ढुक्क रहेको बताए । हल्ला त आजै डोजर चल्छ, भोलि नै डोजर चल्छ भनेर हल्ला सुनिन्छ,उनले भने,‘तर हामीलाई सहमती तोडेर डोजर चल्छ भन्ने लाग्दैन । हामी डोजर चल्नुअघि वैकल्पिक व्यवस्था हुन्छ भन्ने विश्वासमा छौं, बरु त्यो चाँडै हुन्छ भन्ने प्रतिक्षामा छौं ।’ उनले वैकल्पिक व्यवस्था नगरी डोजर चलाए आफूहरु आन्दोलनमा उत्रिने चेतावनी दिए । भने,‘बरु हामी सडकमै सुत्छौं तर घर भत्काउन दिन्नौं । घर भत्काउनुअघि हामीमाथि डोजर चलाएर कत्लेआम गरोस् ।’
सुकुमबासीहरु घर खाली गर्न तयार नभईरहँदा सुकुमबासीका नाममा हुकुमबासीले ओगटेका सटरहरु भने धमाधम खाली भइरहेका छन् । हालको २६ रोपनी क्षेत्रफलमै रहेको बसपार्कको पूर्व र पश्चिमतर्फका अधिकाशं सटरहरु भने खाली भइसकेका छन् । त्यहाँ हुकुमबासीले सटरहरु बनाएर पसल, होटल, ग्यारेजलगायत सञ्चालनका लागि भाडामा लगाएका थिए । कतिसम्म भने एउटै मोहडाबाट छिरेर पछाडी १२÷१५ वटासम्म कोठाहरु बनाएर भाडामा लगाएको पाईन्छ । स्थानिय सागर भट्टराईले एकडेढ सय सटरले सामान हटाएर सटर खाली गरिसकेको बताए । डोजर चल्छ भनेपछि सबैले डराएर सटर खाली गरे,उनले भने,‘अहिले कोहि डराएर छाडिरहेका छन् त कोहि पहिल्यै प्रशस्त कमाएकाहरु राज्यलाई सहयोग पनि हुने र छाड्ने बहाना पनि मिलेकाले छाडिरहेका छन् ।’
पोखरा बसपार्कको उत्तरतर्फका पेट्रोल पम्प लाइनका जग्गाधनीहरू सो ठाउँ खाली गर्न तयार भएका छन् । सो क्षेत्रमा रहेका जग्गाधनी र महानगरपालिकाबीच लामो समयदेखिको विवाद र सम्वादहिनता तोडिदै सोमबार सो क्षेत्र खाली गर्ने सहमती भएको हो । यसअघि सो क्षेत्रका जग्गाधनीहरुले महानगरबिरुद्ध उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । सो रिटको सुनुवाई गर्दै तत्कालका लागि सो क्षेत्रमा डोजर नचलाउन र २६ गते जवाफसहित छलफलका लागि अदालतमा उपस्थित हुन अल्पकालीन आदेश आएको थियो । तर सोमबार भएको सहमती अनुसार अब स्थानियले मुद्धा फिर्ता लिनेछन् । पोखरा महानगरपालिकाका प्रमुख आचार्यले बसपार्क बनाउन स्थानियले सहयोग गर्ने सहमती भएको जानकारी दिए । उनले भने,‘७ दिन भित्रमा त्यहाँ रहेका सटर तथा कवलहरु हटाउने सहमती भएको छ । त्यसपछि त्यस क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्दा महानगरको मापदण्ड अनुसार बनाउने भनिएको छ ।’

जग्गा खोजी समितिले बुझायो प्रतिवेदन
पोखरा बसपार्कका सुकुमबासीको वैकल्पिक व्यवस्थापन गर्न बनेको जग्गा खोजी समितिले महानगरलाई प्रतिवेदन बुझाईसकेको छ । पोखरा–१७ की वडाध्यक्ष राधिकाकुमारी शाहीको संयोजकत्वमा बनेको पोखरा बसपार्कका सुकुमबासीका लागि जग्गा खोजी तथा सिफारिस समितिले ६ वडाका ६ ठाउँमा सुकुमबासीलाई वैकल्पिक व्यवस्थापन गर्न सकिने प्रस्तावसहितको प्रतिवेदन बुझाएको हो । समितिले बसपार्कका सुकुमबासी सार्न वडा नम्बर ११, १४, १५, १७, २१ र २५ मा प्रस्ताव गरेको हो ।
यसैबीच, महानगरले प्रस्तावित ठाउँहरुको प्राविधिक पक्ष अध्ययन गर्ने भएको छ । महानगरले प्रस्तावित ठाउँहरुमा प्राविधिक पक्ष अध्ययन गर्न महानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलको संयोजकत्वमा ५ सदस्यीय प्राविधिक उपसमिति गठन गरेको हो । समितिलाई प्रस्तावित जग्गाको कुल क्षेत्रफल निर्धारण गरि त्यहाँ कति परिवारलाई व्यवस्थित रूपमा बसोबास गराउन सकिन्छ भन्ने विषयमा स्थलगत अध्ययन र विश्लेषण गरी ७ दिन भित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले जानकारी दिए । उनले भने,‘प्रस्तावित जग्गाहरूको नापजाँच गरी तोकिएको क्षेत्रफलअनुसार कित्ता छुट्याउने, खुला क्षेत्र, विद्यालय तथा अन्य आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक क्षेत्र सुनिश्चित गर्दै ७ दिनभित्र राय, सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।’ उनले प्राविधिक समितिको प्रतिवेदनका आधारमा आवश्यक निर्णय गरि सुकुमबासी बस्ती व्यवस्थापन कार्य अघि बढ्ने बताए ।
२०३२ सालमा पोखरा बसपार्क बनाउन २०५ रोपनी जमिन अधिग्रहण गरिए पनि अहिले २६ रोपनीमा खुम्चिएको छ । पृथ्वी राजमार्गको मापदण्ड, सेती नदी किनारको मापदण्डलगायत कटाउँदा १८७ रोपनी जमिन बाँकी रहनुपर्ने हो । तर केहि व्यक्ति र संस्थाले सत्ता, शक्ति र पहुँचको दुरुपयोग गरेर ३९ रोपनी जमिन हडपेर लालपूर्जासमेत लिइसकेका छन् । बाँकी जमिनमा सुकुमबासी बस्दै आएका छन् । बसपार्क क्षेत्रमा बसोबास गर्ने ५७२ घर परिवारले वैकल्पिक व्यवस्थापनका लागि निस्सा बुझाएका छन् । महानगरले निस्साको छानविन गरिरहेको जनाएको छ । ५७२ मध्ये आधा भन्दा बढी हुकुमबासी रहेको आशंकामा महानगरले छानविन गरिरहेको हो । छानविनपश्चात सुकुमबासी भएको पुष्टि भएमा उनीहरुलाई व्यवस्थापन गर्ने महानगरको तयारी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।पर्यटन राजधानी पोखराको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र वातावरण अनुकूल…







