नवग्रह मन्दिर : धार्मिक पर्यटनको नयाँ गन्तव्य


     एभरेस्ट आवाज    
     जेठ २६ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, जेठ २६

स्याङ्जाको नवग्रह मन्दिर पर्यटनको नया गन्तव्यका रुपमा स्थापित हुन थालेको छ । स्याङ्जा जिल्ला, अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको यो मन्दिर धार्मिक पर्यटनको गन्तव्यको रुपमा स्थापित हुन थालेको हो । केहि वर्ष अघिसम्म सामान्य ठाउँका रुपमा रहेको यो ठाउँ अहिले नवग्रह मन्दिर बनेसँगै धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । स्याङ्जाको हेलुबाट ७ किलोमिटर पश्चिम रहेको यो मन्दिरमा हरेक शनिबार ५ हजार भन्दा धेरै पर्यटक पुग्ने गरेका छन् । कहिलेकाहिं त १२ हजारसम्म भक्तजन पुग्ने गरेको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

आठ हेक्टर क्षेत्रफलमा धार्मिक वनभित्र निर्माण गरिएको नवग्रह मन्दिर समुन्द्री सतहभन्दा एक हजार २४ मिटरको उचाईमा छ । नव भुजायुक्त संरचनामा तयार गरिएको यो मन्दिर नवग्रहको विधिवत पूजा हुने पहिलो शक्तिपीठ पनि हो । यहाँ २७ फिट अग्लो नवग्रह मन्दिरसँगै नवभुज स्तम्भ, ग्रह यन्त्र, षट्कोण शिवालय, पञ्चमुखी शिव लिंगलगायत निर्माण गरिएका छन् । षटकोणको बिच भागमा पञ्चमुखी शिवलिङ्ग राखिएको छ भने अन्य कोणहरुमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमान र दुर्गा भवानीको मूर्ति छ ।

मन्दिरका ९ वटा भुजा रहने पिल्लरमा ९ वटा ग्रहहरु सूर्य, चन्द्र, मंगल, बुध, गुरु, शुक्र, शनी, राहु र केतुका प्रतीक राखिएका छन् भने त्यसमाथि नवभुज आकारको १४ फुटको पिल्लर बनाइएको छ । पिल्लरको सबैभन्दा माथि सूर्यतर्फ फर्किएको सौर्यमण्डलीय ग्रहको प्रतिमा राखिएको छ । त्यसबाहेक मन्दिर परिसरमा नवग्रहको चिनारी, कुन ग्रह र राशीसँग कुन रुख विरुवाको मेल खान्छ भन्ने जानकारीसहित राशी अनुसारको रुख, विरुवाहरु रोपिएका छन् । त्यस्तै, धार्मिक वन क्षेत्रमा १०८ वटा पिपलसमेत रोपिएका छन् ।

पूर्वाधार निर्माणसँगै धार्मिक पर्यटकको आगमन बढेको गाउँपालिका अध्यक्ष तिवारीको भनाई छ । यसको प्रवद्र्धन गर्न सके यो क्षेत्र धार्मिक पर्यटकी गन्तव्य बन्ने उनले बताए । भने,‘गाउँपालिकाको एकल जोडबलमा पूर्वाधार खडा गरेका छौं, अब यसको प्रवद्र्धन गर्दै पर्यटनमार्फत विकास र समृद्धि हासिल गर्न सकिन्छ ।’

मन्दिरका पुजारी तीलक देवकोटाले नवग्रह मन्दिर सञ्चालनमा आएपछि मुक्तिनाथ मन्दिर, बागलुङ कालिका मन्दिर र मनकामना मन्दिर जाने धार्मिक पर्यटकहरु नवग्रह मन्दिरमासमेत आउने गरेको बताए । अहिले मलमास चलिरहेकाले भक्तजनको आगमनमा कमी आएको बताउँदै उनले भने,–‘मन्दिर बनेसँगै पर्यटकको संख्या ह्वात्तै बढेको छ । मलमास सकिएलगत्तै भक्तजनको संख्या बढ्छ भन्ने विस्वास छ’–उनले भने ।

नेपाल पर्यटन वोर्डका लेखा अधिकृत युवराज गुरुङले नवग्रह धार्मिक पर्यटनको हब बन्नसक्ने बताए । यहाँ पूर्वाधार निर्माण भइसकेको छ,उनले भने,‘अब प्रवद्र्धनमा हामी सघाउँछौं ।’ उनले पूर्वाधार निर्माणपछिको प्रवद्र्धनले परिणाम आउने बताए । पूर्वाधार निर्माण नै नगरी प्रवद्र्धनमा जोड दिदा परिणाम आउँदैन,उनले भने,‘तर धेरैजसोले पूर्वाधार निर्माण नगरी पर्यटन प्रवद्र्धन गर्नुप¥यो भन्नुहुन्छ, त्यसले परिणाम दिदैन । त्यसैले यहाँ पूर्वाधार निर्माण भइसकेकाले अब प्रवद्र्धन गर्दा परिणाम आउँछ ।’

पोखरा पर्यटन परिषदका महासचिव जीवनराज सापकोटाले नवग्रहलाई पर्यटकीय गन्तव्यहरुको सूचीमा सुचिकृत गरिनुपर्ने बताए । यसले पर्यटकलाई आकर्षित गर्ने बताउँदै उनले भने,‘पोखराका विन्ध्यबासिनी, पुम्दीभुम्दीस्थित महादेव मन्दिर, नारायणस्थानसहित मुस्ताङको मुक्तिनाथ, गोरखाको मनकामना र स्याङ्जाको नवग्रह मन्दिरलाई एउटै धार्मिक–पर्यटकीय प्याकेजमा जोडेर अघि बढाउन सकेमा पर्यटन क्षेत्रले थप लाभ लिनसक्छ ।’

नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश प्रमुख मणीराज लामिछानेले नवग्रह मन्दिरलाई पर्यटनको गन्तव्यका रुपमा विकास गर्न पर्यटन वोर्डले योजना बनाईरहेको बताए । त्यहि योजना अन्तर्गत नवग्रह मन्दिरलाई गन्तव्य बनाएर चाँडै अल्ट्रा म्याराथन आयोजना गर्न लागेको बताउँदै उनले भने,‘त्यसको तयारीमै छौं हामी । त्यसबाहेक अन्य प्रवद्र्धनात्मक काम पनि गर्ने योजनामा वोर्ड छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।