प्रतिनिधिसभाको जारी बैठकमा विपक्षी दलहरुले राष्ट्रियताको सवालमा नेपाल सरकार गम्भीर हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन् ।
बैठकको सुरूमै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिए । सांसद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिका सन्दर्भमा जवाफ माग गरिन् । नेता अर्यालले संसद्मा जवाफमा क्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाईन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहको गत जेठ १७ गते सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे । उनले एसइईका विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गर्ने, टेम्पो भीरबाट खसाल्ने र प्रहरीले व्यक्तिको घरमा ढुङ्गा हानेर क्षति पुर्याउनेलगायतका काम गलत भएको भनी टिप्पणी गरे ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले भारतीय सेनाको हेलिकप्टर दार्चुलाको भूमिमा प्रवेश गरेको विषयमा सरकारको जवाफ माग गरे । उनले इलामको प्रसिद्ध चिया उद्योग बन्द हुन लागेको विषयमा सरकारको ध्यानाकर्षण गराए । नेपाली कांग्रेसका सांसद रेनुका काउँचाले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गरिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी एसएसबीको हस्तक्षेपप्रति विनावर्दीका सिपाही बनेर नेपाली नागरिकले देखाएको अदम्य साहसप्रति सम्मान गरे । उनले सीमा क्षेत्रमा रहेका नेपालीहरूप्रति सरकार संवेदनशील हुनुपर्ने माग गरे । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृतरुपमा छलफल हुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
बैठकमा युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आज देखि चितवनको भरतपुरमा शुरु हुँदैंछ…







