मादीको बजेट ६५ करोड १२ लाख, मादीले अबदेखि पेश्की बजेट नदिने


     एभरेस्ट आवाज    
     असार ८ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असार ८

कास्कीको मादी गाउँपालिकाले ६५ करोड बजेट ल्याएको छ । मादी गाउँपालिकाको १९ औं गाउँसभामा मादी गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले आर्थिक वर्ष २०८३÷८४ का लागि ६५ करोड १२ लाख ५१ हजारको बजेट प्रस्तुत गरेकी हुन् । मादीले चालुतर्फ ४६ करोड ९७ लाख ६१ हजार र पुँजीगततर्फ १८ करोड १४ लाख बजेट विनियोजन गरेको छ ।

विनियोजित बजेटको खर्च बेहोर्ने स्रोतहरुमा संघीय समानिकरण अनुदानबाट १० करोड २६ लाख, संघीय सशर्त अनुदान २८ करोड २९ लाख र संघीय राजश्व बाँडफाँटबाट ११ करोड ८२ लाख ९८ हजार प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष गुरुङले बताईन् । बजेटमा प्रदेश समानिकरण अनुदानतर्फ १ करोड ११ लाख ९९ हजार, प्रदेश समपुरक अनुदान ४५ लाख, प्रदेश विशेष अनुदान ४०, प्रदेश राजश्व बाँडफाँटबाट १ करोड ११ लाख ९६ हजार प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, स्थानिय राजश्व बाँडफाँडबाट ५६ लाख, रोयल्टी २ करोड ६० लाख र आन्तरिक आयबाट १ करोड ११ लाख ९६ हजार प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष गुरुङले बताईन् ।

मादी गाउँपालिकाले ६ करोड ३१ लाख २० हजार घाटा बजेट ल्याएको छ । सो बजेट चालु आर्थिक वर्षको मौज्दातबाट पूर्ति गरिने उनले बताईन् ।

मादीले वडाहरुका लागि ८ करोड ८ लाख २४ हजार बजेट विनियोजन गरेको छ । जुन बजेट वडा तहबाट प्राप्त हुने योजना तथा कार्यक्रमहरु कार्यान्वयन हुने उपाध्यक्ष गुरुङले बताईन् । त्यस्तै, स्वास्थ्य, शिक्षासहित सामाजिक विकास क्षेत्रका लागि ३२ करोड ५४ लाख, पूर्वाधार र पर्यटन क्षेत्रका लागि १३ करोड ५४ लाख ४१ हजार, पूर्वाधार र पर्यटनतर्फ १३ करोड ५४ लाख र कृषितर्फ ३ करोड २९ लाख ५३ हजार विनियोजन गरिएको उनले बताईन् ।

पहाडी र हिमाली ग्रामिण क्षेत्र पर्ने मादी गाउँपालिकाले विद्यालयमा बस खरिद गर्न बजेट विनियोजन गरेको छ । विद्यालयबाट टाढा बस्ने बालबालिकाको सुरक्षित आवतजावत सुनिश्चित गर्न विद्यालयलाई बस खरिदमा अनुदान दिन बजेट विनियोजन गरिएको उपाध्यक्ष गुरुङले बताईन् । साथै विद्यार्थीलाई बस भाडासमेत प्रदान गरिने उनले बताईन् । ‘यसका लागि विद्यालय बस सञ्चालनलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा मापदण्ड तथा नियमित अनुगमन प्रभावकारी रूपमा लागू गरिनेछ’–उनले भने ।

मादी गाउँपालिकाले अबदेखि कुनै पनि कार्यक्रमका लागि पेश्की नदिने भएको छ । उपाध्यक्ष गुरुङले बेरुजुलाई शून्यमा झार्ने रणनीति अन्तर्गत पेश्की बजेट नदिने नीति लिएको स्पष्ट पारिन् । भनिन्,‘हालसम्म रहेको बेरुजु फछर्यौटलाई प्रभावकार िबनाई शून्यमा झार्ने नीति अनुरुप निर्माण सामग्री खरिद गर्नुपनेृ कार्यबाहेक अन्य कार्यमा पेश्की दिने कार्यलाई निरुत्साहित गरिनेछ ।’ महालेखा प्रतिवेदनले पेश्की दिँदा देखाएको बेरुजुलाई असुलउपर गरेर बेरुजु शून्यमा झारिने पनि उनले बताईन् ।

मादीले सामुहिक वा सहकारी खेती प्रणालीको प्रवद्र्धन गर्ने नीति लिएको छ । जस अन्तर्गत ‘एक गाउँ एक उत्पादन’ नीति लिईने भन्दै यसको अध्ययनका लागि बजेट विनियोजन गरिएको उनले बताईन् । कृषितर्फ नै मादीले बाँझो तथा नदी खोला किनाराको खेर गएको जग्गामा बगर खेती कार्यक्रम सञ्चालन गर्ने उनले बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।