रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै,निर्वाचनमा एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने


     एभरेस्ट आवाज    
     असार ९ गते २०८३ मा प्रकाशित




राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु भएको छ ।

परिचयपत्र वितरणको काम छिटो सक्ने उद्देश्यले विभिन्न नौ ठाउँबाट सुरु गरिएको पार्टीले जनाएको छ । रास्वपा चितवनका सभापति ई मिनीमाधव खनालका अनुसार सात प्रदेश, प्रवास र समायोजनबाट प्रतिनिधि बनेकाहरूको अलगअलग ठाउँमा वितरण भइरहेको छ । प्रतिनिधिको टुङ्गो लागेपछि स्वचालित प्रणालीबाट परिचयपत्र छपाइ गर्ने भएकाले केही ढिलो भएको स्पष्ट गर्दै महाधिवेशन आयोजक जिल्लाका सभापति खनालले परिचयपत्र वितरणपछि बन्दसत्र सुरु हुनेछ । बन्दसत्र भरतपुरको उद्योग सङ्घ परिसरमा रहेको प्रदर्शनी केन्द्रमा हुनेछ ।बन्दसत्रपछि निर्वाचन प्रक्रियाअघि बढ्ने रास्वपाले जनाएको छ ।

निर्वाचन प्रक्रियाअन्तर्गत कुनै पनि पदका उम्मेद्वारका प्रस्तावकले अर्को उम्मेद्वारको प्रस्तावक बन्न नपाउने भएका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गरी कुनै एक व्यक्तिले एकभन्दा बढी उम्मेद्वारको उम्मेद्वारी फारममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न नपाइने जनाएको हो । त्यसैगरी, कुनै पनि पदका उम्मेद्वारका एक समर्थकले एकभन्दा बढी उम्मेद्वारको उम्मेद्वारी फारममा समर्थकका रूपमा पनि हस्ताक्षर गर्न नपाइने आयोगले स्पष्ट गरेको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार पार्टी सभापति पदका उम्मेद्वारले मनोनयन फारम दाखिला गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर गरेको हुनुपर्ने छ । त्यस्तै, पार्टी पदाधिकारी र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने हरेकले दाखिला गर्ने मनोनयन फारममा एक जना प्रस्तावक र २१ जनाका दरले समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षर भएको हुनुपर्नेछ ।

केसीले नियमविपरीत उम्मेद्वार मनोनयन फारम दाखिला हुन आएमा उक्त उम्मेद्वारी फारम स्वतः अमान्य ठहर हुने बताए । यसैगरी, कुनै पनि उम्मेदवारका प्रस्तावक र समर्थकले पार्टीको पदाधिकारी एवं सदस्य पदमा उम्मेदवारी दिन नपाउने आयोगले स्पष्ट गरेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।