भारतीय पर्यटकले पोखराका होटल भरिभराउ


     एभरेस्ट आवाज    
     असार ९ गते २०८३ मा प्रकाशित




पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन् ।

यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ । गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगर फेवातालाको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ, तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रहेको होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । भारतमा बढ्दो गर्मीबाट राहत खोज्न तथा बिदाको सदुपयोग गर्न भारतीय नागरिकले नेपाललाई आकर्षक र सहज गन्तव्यका रूपमा रोज्न थालेको बताउँदै पोखरामा सुवेदीले उनीहरुको स्वागत र सम्मान गर्नु पोखरेली पर्यटन व्यवसायीको दायित्व भएको बताए । पर्यटकको चहलपहल बढेसँगै डुङ्गा सयर, पदयात्रा तथा अन्य पर्यटन गतिविधिसमेत बढेको अध्यक्ष सुवेदीको भनाइ छ ।

फेवातालमा दिनहुँ चार पाँच हजार भारतीय पर्यटककले डुङ्गा सयर गर्ने गरेको जानकारी फेवा डुङ्गा व्यवसायी सङ्गठनका सहसचिव धनबहादुर विकले बताए । डेढ महिनादेखि भारतीय पर्यटक उल्लेख्य उपस्थिति र फेवातालको मध्यभागमा अवस्थित बाराही मन्दिरमा दर्शन गर्न जान रुचि राख्ने गरेको विकले बताए । “दिनभरि ताल छेउमा डुङ्गा कुरी बेलुका रित्तो हात घर जानुपर्ने बमाध्यता भारतीय पर्यटक बढेसँगै हटेको छ”, सहसचिव विकले भने । अहिले बाराही घाटबाट मात्र दिनहुँ १४० डुङ्गाहरु चलायमान छन् । टान गण्डकीका कोषाध्यक्ष दीपक सापकोटाले पछिल्लो डेढ महिनामा मात्र डेढ लाख भारतीय पर्यटक पोखरा आएको जानकारी दिँदै उनीहरु धर्मिकस्थल, छोटो दूरीको पदयात्रा, प्याराग्लाइडिङ, वन्जिजम, डुङ्गा सयर तथा ¥याफ्टिङ गर्ने गरेको बताए । भारतीय पर्यटक यतिबेला पाँच तारेहोटलदेखि साना होटल र धर्मशालासम्म भरिभराउ रहेको बताए ।

भारतीय पर्यटकले कोठामा भन्दा पनि खानामा वार्गेनिङ गर्ने गरेको कुरा होटल व्यवसायी पार्वती पाण्डेले सुनाए । भारतमा होटलका रुम मंहगा हुने भएकाले रुममा उनीहरु खासै वार्गेनिङ गर्दैनन् । पोखरामा होटल भारतीय पर्यटकले धानिएको बताउँद्रै नेपालका पर्यटकीय तथा धार्मिक क्षेत्रका बारेमा भारतमा प्रचारप्रसार गर्न सक्यौँ भने नेपालमा भारतीय पर्यटक खचाखच हुने उनको भनाइ छ । पर्यटन व्यवसायीले यो मौसमलाई ‘अफसिजन’का रुपमा लिने गरेको भए पनि पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि पर्यटन व्यवसायीहरू थप उत्साहित बनेका छन् । नेपाली नयाँ वर्षयता सुरु भएको पर्यटक आगमनको लहर जेठ महिनाको अन्त्यसम्म पनि निरन्तर कायम रहेको पर्यटन व्यवसायी बताउँछन् । पर्यटकीय रुपमा चहलपलल भएको पोखरामा एक महिनाको समयावधिमा पोखरामा मात्रै डेढ लाख भारतीय पर्यटक भित्रिएका तथ्याङ्क पर्यटन व्यवसायीसँग छ । यहाँका होटलको ९० प्रतिशत अकुपेन्सी पुगेको होटल व्यवसायीहरु बताउँछन् । विशेषगरी उनीहरु तालबाराही मन्दिर, पुग्दीको शिवमन्दिर, केदारेश्वर, विन्ध्यवासिनी, मुक्तिनाथ, मनकामना मन्दिरमा जाने गर्छन् ।

नेपालमा आउने पाहुनाको माया गर्नु हामी सबैको कर्तव्य हो । नेपालीहरु पनि भारतको धार्मिक मठमन्दिरमा जाँदा होटलमा भन्दा पनि बाहिर नै पकाएर खाने गर्छन् । पोखरामा एकैदिन १० हजार पर्यटक अटाउनसक्ने क्षमता होटलमा छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।