रास्वपाको बन्दसत्र जारी,गुटउपगुटमा नलाग्न सभापति रवि लामिछानेको निर्देशन,आजै निर्वाचन प्रक्रिया सुरु हुने


     एभरेस्ट आवाज    
     असार ९ गते २०८३ मा प्रकाशित




ढिलो गरी सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र चितवनको भरतपुरमा जारी छ । दिउँसो २ बजेदेखि जारी बन्द सत्रमा तीन हजार ८४९ प्रतिनिधि सहभागि भएका छन् ।

बन्दसत्रमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह अनुपस्थित भएका छन् । बन्दसत्रको उद्घाटन गर्दै सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट नबनाउन निर्देशन दिएका छन् । उनले गुट उपगुटले पार्टीलाई माथि नलैजाने बताए। सभापति लामिछानेले भने, “हामीले पनि गुटउपगुट बनायौँ भने हामीबाट आउने परिणाम पनि पुराना पार्टीको जस्तै हुन्छ । फरक आउँदैन । फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ ।” महाधिवेशनमा आफ्नो विवेक प्रयोग गर्न आग्रह गर्दै उनले भने , “५२ लाख जनताले विवेक प्रयोग गरेर हामीलाई जिताउनुभयो, त्यही विवेक हामीले पनि प्रयोग गर्नुपर्छ ।”

प्रतिनिधि चयन गर्दा विवेकपूर्वक गरिएको उनको भनाइ थियो । प्रतिनिधिहरूले तिरेको रु पाँच हजार ऐच्छिक बनाइएको भन्दै उनले त्यही पाँच हजार आवश्यक परे फिर्ता लैजान सक्ने बताए । उनले भने, “तपाईंले तिरेको रु पाँच हजार चाहेमा फिर्ता लिन सक्नुहुने छ । यति दिन बस्दा खर्च धेरै भएको छ, सक्नेले आफ्ना साथीको तिरिदिन्छु भन्नुभयो भने राम्रो हुन्छ ।” महाधिवेशन निर्वाचनको सन्दर्भमा उनले जसले जिते पनि घण्टीबाहकले जित्ने विश्वास व्यक्त गरे । उनले भने, “निर्वाचनमा जसले जिते पनि घण्टीबाहक जित्छ । म कसैको पक्षमा छैन ।” सभापति लामिछानेले थपे, “तपाईँले आफू कसलाई भोट हाल्नुहुन्छ, तपाईँको कुरा हो । यसलाई भोट दिनु उसलाई नदिनु भन्ने व्यक्ति रास्वपा होइन ।”

सभापति लामिछानेले नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगराइने स्पष्ट पारे । उनले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने भन्ने हल्ला निराधार रहेको बताए । उनले भने, “पुराना र नयाँ सबै साथीलाई आफ्नो योग्यता र क्षमताअनुसार प्रतिस्पर्धा गर्ने अधिकार रहेको छ ।” पार्टीले कसलाई भोट हाल्ने वा नहाल्ने भन्ने विषयमा कुनै औपचारिक निर्णय नगरेको भन्दै उनले प्रतिनिधिहरूलाई आफ्नो विवेक प्रयोग गरेर नेतृत्व छान्न आग्रह गरे । उनले भने, “रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ ले चल्ने पार्टी हो ।”

पार्टीभित्र हुने सामान्य असन्तुष्टि र मनमुटावलाई कोठाभित्रै बसेर छलफलमार्फत टुङ्ग्याउनुपर्नेमा जोड दिँदै सभापति लामिछानेले सडक वा मैदानमा लगेर तमासा नबनाउन प्रतिनिधिलाई सचेत गराए । रास्वपा आफ्ना सबै मतभेद अन्त्य गर्न सक्ने पार्टी भएको उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै उनले विना विवाद, स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न आह्वान गरे । आजै बन्दसत्र सम्पन्न गरेर निर्वाचनका कार्यक्रम अघि बढाउने तयारी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।