सन्देश श्रेष्ठ
पोखरा, असार ९
गण्डकी प्रदेशमा असारको पहिलो सातासम्म करीब साढे १४ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । गण्डकी प्रदेशमा असार ५ गतेसम्ममा १४.३५ प्रतिशत मात्र धान रोपाई सकिएको गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास महाशाखाले जनाएको छ । अघिल्लो वर्ष पनि यो समयमा १४ प्रतिशत नै रोपाईं भएको थियो ।
गण्डकीमा ९३ हजार ६ सय ६ हेक्टर जमिन धान रोपाई गर्न योग्य रहेकोमा हालसम्म १३ हजार ४ सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको महाशाखाकी कृषि प्रसार अधिकृत बिना पराजुलीले जानकारी दिईन् ।
गण्डकीमा बागलुङमा सबैभन्दा धेरै र नवलपुरमा सबैभन्दा कम धान रोपाईं भएको छ । बागलुङमा ३५ प्रतिशत र नवलपुरमा ४ प्रतिशत धान रोपाईं भएको पराजुलीले जानकारी दिईन् । उनका अनुसार कास्कीमा २५ प्रतिशत, म्याग्दीमा २२ प्रतिशत, पर्वतमा १६ प्रतिशत र स्याङजामा १२ प्रतिशत रोपाईं सम्पन्न भएको छ । लमजुङमा ६.०५ प्रतिशत, तनहुँमा ४.७९ प्रतिशत र गोरखामा ४.३ प्रतिशत रोपाईं सम्पन्न भएको पराजुलीले बताईन् ।
मनसुनको ढिलाईले गण्डकीमा रोपाईं कम भएको पराजुलीले बताईन् । मनसुन ढिलो भित्रिदा त्यसको प्रभाव रोपाईंमा परेको हो,उनले भनिन्,‘मौषम पूर्वानुमान महाशाखाले यस वर्ष मनसुन ढिलाई हुने प्रक्षेपण गरेको थियो,उनले भनिन्,‘सोहि अनुसार कृषकहरुले पनि रोपाईंको तयारी ढिलाई गर्दा अहिलेको रोपाईं कम देखिएको हो ।’ अर्कोचाहिं तोकिएको मितिमा पनि मनसुन नभित्रिनु र भित्रिएको मनसुन पनि कमजोर बन्दा त्यसको प्रभावमा रोपाईंमा परेको उनले बताईन् । यस वर्ष ६ दिन ढिला गरेर असार ५ गते मनसुन भित्रिएको तर अहिले पनि मनसुन कमजोर रहेकाले पर्याप्त पानी नपरेकाले रोपाईंमा असर परेको उनको भनाई छ ।
पराजुलीले पछिल्ला वर्षहरुमा रोपाईंको समय पनि पछि सर्दै गएको बताईन् । जलवायु परिवर्तनले पनि रोपाईंमा प्रभाव पार्ने गरेको छ,उनले थपिन्,‘यसमा किसानले अनुकुलन (एडप्ट) गर्दै जाँदा रोपाईंको समय पछि सर्दै गएको पनि देखिन्छ ।’ त्यसबाहेक किसानले रैथाने बालीभन्दा अन्य बालीहरु लगाउन थालेकाले पनि रोपाईंको समय पछि सर्दै गएको हुनसक्ने उनको आँकलन छ । ‘क्रपिङ सिजन पनि पछाडि धकेलिएको छ र क्रपको म्याचुरिटी पिरियड पनि पछि सरेको छ ।’–उनले भनिन् ।
गण्डकीका धान रोपाईं हुने जिल्लाहरु मध्ये नवलपुरमा गोरखामा १० हजार ५ सय हेक्टर, लमजुङमा ९ हजार २ सय ९९ हेक्टर, तनहुँमा ८ हजार ५ सय १५ हेक्टर, कास्कीमा १६ हजार २ सय १० हेक्टर, पर्वतमा ७ हजार १ सय ६० हेक्टर, स्याङजामा १३ हजार ६ सय ८५ हेक्टर, म्याग्दीमा ३ हजार ८ सय हेक्टर, बागलुङमा ५ हजार ७ सय १० हेक्टर र नवलपुरमा १८ हजार ७ सय २५ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको उनले जानकारी दिईन् ।
गण्डकीका ११ जिल्लामध्ये हिमालपारीका जिल्लाहरु मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






