रुपाको बजेट : बाँदर नियन्त्रणदेखि छोरी जन्माउनेको खातामा नगदसम्म


     एभरेस्ट आवाज    
     असार ९ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असार ९

कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब साढे ५५ करोडको बजेट ल्याएको छ । रुपा गाउँपालिकाको मंगलबार भएको १९ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष लालसुबा गुरुङले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ५५ करोड ३८ लाख १ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । रुपा गाउँपालिकाले चालु खर्चतर्फ ४१ करोड ८२ लाख ३० हजार र पुँजीगत खर्चतर्फ १३ करोड ५५ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विनियोजित बजेटको खर्च बेहोर्ने स्रोतहरुमा संघीय समानिकरण अनुदानबाट ७ करोड ७८ लाख, संघीय सशर्त अनुदान २९ करोड २९ लाख, संघीय राजश्व बाँडफाँटबाट ७ करोड ५९ लाख, सपपुरक अनुदानतर्फ १ करोड ७५ लाख र विशेष अनुदानतर्फ ३० लाख प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष गुरुङले बताईन् । बजेटमा प्रदेश समानिकरण अनुदानतर्फ ९३ लाख ९६ हजार, प्रदेश समपुरक अनुदान ६० लाख, प्रदेश विशेष अनुदान ४० लाख, प्रदेश राजश्व बाँडफाँटबाट ८१ लाख २ हजार प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, स्थानिय स्रोततर्फ १ करोड २७ लाख प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष गुरुङले बताईन् ।

रुपा गाउँपालिकाले पूर्वाधारतर्फ ११ करोड १८ लाख ५१ हजार, शिक्षातर्फका लागि १५ करोड २४ लाख, सामाजिक विकासतर्फ १९ करोड ४३ लाख, कृषि क्षेत्रतर्फका लागि २ करोड ५ लाख, खानेपानी तथा सरसफाईका लागि ११ लाख र खेलकुदका लागि १० लाख बजेट विनियोजन गरेको गुरुङले उल्लेख गरिन् । पूर्वाधारतर्फ सडक निर्माणलाई जोड दिएको रुपाले गाउँपालिका प्रशासकीय भवनको फर्निसिङ, ल्याडस्केट निर्माण, कम्पाउण्डिङका लागि मात्रै डेढ करोड विनियोजन गरेको छ ।

रुपा गाउँपालिकाले छोरी जन्माउने बाआमालाई नगदसहित सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । ‘रुपाको छोरी नाम दिएर ‘छोरी काखमा, बचत खातामा’ कार्यक्रमका लागि ७ लाख बजेट विनियोजन गरेको छु’–उनले भनिन् ।

रुपा गाउँपालिकाले बाँदर नियन्त्रणका लागि पनि बजेट विनियोजन गरेको छ । रकम नतोकि राखिएको कार्यक्रमबारे उपाध्यक्ष गुरुङले भनिन्,‘कृषकहरुलाई कृषि पेशामा पर्न सक्ने तथा परेको असहजतालाई मध्यनजर गर्दै वन्यजन्तु व्यवस्थापन र बाँदर नियन्त्रण सम्बन्धी कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।’ यसैगरी, रुपाले डढेलो नियन्त्रण तथा रोकथामका लागि पनि बजेट विनियोजन गरेको छ । त्यस्तै, ‘काम गरी कमाउ, स्वदेशमै रमाउ’ भन्ने नारासहित श्रम र रोजारीको समग्र पक्षमा काम गर्नेगरी काम गर्नका लागि सिंचाई, चिस्यान केन्द्र, पर्यापर्यटन सुविधा पदमार्गलगायतका लागि आवश्यक बजेट विनियोजन गरेको उनले बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।