रास्वपा महाधिवेशन: केन्द्रीय सदस्यको मतगणना जारी, १ हजार ३५२ जना मतदानमा अनुपस्थित


     एभरेस्ट आवाज    
     असार ११ गते २०८३ मा प्रकाशित




राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा पहिलो चरणको मतदान सकिए पछि अहिले मतगणना सुरु भएको छ ।

गए राति १२ बजेदेखि सुरु भएको मतदान बिहीबार मध्याह्न साढे १२ बजे सकिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। रास्वपा प्रवक्ता मनिष झाका अनुसार निर्वाचनमा २ हजार ९ सय ५९ मत खसेको छ।१ हजार ३५२ जना मतदानमा अनुपस्थित रहे । रास्वपा महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए। बिहीबार मध्याह्न रास्वपा सभापति रवि लामिछाने पनि मतदान गर्न पुगेका थिए। उनले अन्तिम समयमा मतदान गरेका थिए। मतदान सकिएको करिब २ घण्टामा नतिजा आइसक्ने बताइएको छ ।रास्वपा विधानअनुसार, पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यका लागि निर्वाचन हुन्छ। सभापतिमा लामिछाने निर्विरोध निर्वाचित भएका थिए भने केन्द्रीय सदस्यका लागि मतदान भएको हो।

दोस्रो चरणको निर्वाचन प्रक्रिया दिउँसो ४ बजेबाट सुरु गर्नेगरी तयारी अघि बढेको छ । खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्रीको मतदान हुने नेता झाले बताए । निर्वाचन कार्यमा ढिलाइ हुँदा थुप्रै घर फर्किएका कारण भोट हाल्नेको संख्या घटेको रास्वपाका एक नेता बताउँछन् ।पहिलो चरणमा थुप्रै उम्मेदवारका नामको क्रमांक बिग्रिएको, चिन्ने नाम उल्लेख नभएको र क्लष्टर फेरेर निर्वाचन समितिले उम्मेदवारी दिएभन्दा फरक क्लष्टरमा पारेको असन्तुष्टि देखिएको छ ।केन्द्रीय सदस्यका उम्मेदवार ज्वाला संग्रौलाले मतपत्रमा आफ्नो परिचित नाम हटाइएको भन्दै आपत्ति जनाएकी छन् । संग्रौलाले सुरुदेखि नै आफ्नो परिचित नाम ज्वाला भए पनि मतपत्रमा टिका संग्रौलामा राखिएकाले मत दिनेहरू झुक्किएको भन्दै आपत्ति जनाएकी हुन् ।

मतपत्रमा ज्वाला नाम नदेख्दा प्रतिनिधिहरूले आफूहरूलाई भोट नहाली आएको उनको दाबी छ । रास्वपाकि सांसद आशिका तामाङले पार्टीको महाधिवेशनको अनुभवबारे जुनसुकै पक्षमा पनि पीडा भोग्ने आम जनता नै हुने निष्कर्ष निकालेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।