नागरिक सहयोग समितिमा तिमिल्सीना, मातृशिशुको सेवालाई थप प्रभावकारी बनाईने


     एभरेस्ट आवाज    
     असार २० गते २०८३ मा प्रकाशित




नागरिक सहयोग समिति, पोखरा १६ को अध्यक्षमा पुष्पराज तिमिल्सीना चयन भएका छन् ।

बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पताल स्थापनार्थ गठन भएको उक्त समितिको शनिबार सम्पन्न अधिवेशनले तिमिल्सीनाको अध्यक्षतामा ८ सदस्यीय समिति चयन भएको हो । समितिको उपाध्यक्षमा सुशीला थापा,सचिवमा मोहनकुमार सुनार,कोषध्यक्षमा रञ्जु गुरुङ र सदस्यमा बसन्त बानियाँ,मेहरमान थापा,भिमबहादुर थापा, गुमादेवी गौतम चयन भए । एक जना सदस्य समितिले मनोनित गर्ने जनाईएको छ । यसअघि अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले स्वास्थ्य जस्तो संवेदनशील सेवा सबै नागरिकको सहज पहुँचमा हुनुपर्नेमा जोड दिए । उनले आमा र शिशु स्वस्थ भएमात्र समाज स्वस्थ हुने बताउँदै, यस सेवामा मातृशिशु अस्पताल र नागरिक सहयोग समितिले खेलेको भुमिका प्रशंसनिय रहेको बताए ।

मातृशिशु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा धर्मदेव ढकालले अस्पताल स्थापनका लागि समितिले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउँदै, सेवा प्रवाहमा कुनै कञ्जुस्याई नगर्ने बताए । समितिका अध्यक्ष डा छममाया पुनको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सल्लाहकार दानबहादुर बानियाँ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर देवकोटा,पत्रकार यदुनाथ बञ्जरालगायतले अस्पताललाई केन्द्रमा राखी अन्य क्षेत्रमा पनि सहयोग उपलब्ध गराउन सुझाव दिएका छन् ।उनीहरुले ५० शैयामा स्तरोन्नती भएको अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरे । कोषमा हाल १ करोड ५० लाख मुद्धतीमा रहेको र सोबाट प्राप्त ब्याज अस्पताल संचालनमा सहयोग गर्दै आएको कोषाध्यक्ष रञ्जु गुरुङले जानकारी दिईन् ।

समितिमा पोखरा महानगरपालिकाले कबुल गरेको ११ लाख ११ हजार रुपैयाँसहित बिभिन्न व्यक्तिबाट सहयोग रकम प्राप्त नभएको जनाईएको छ । अधिवेशनले सचिव मोहनकुमार सुनारको प्रगति र कोषाध्यक्ष रञ्जु गुरुङले पेश गरेको प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ । कार्यक्रममा उपाध्यक्ष पुष्पराज तिमिल्सीनाले स्वागत र सचिव मोहनकुमार सुनारले संचालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।