बालेन सरकारबिरुद्ध आन्दोलनका लागि पत्रकार र कर्मचारीलाई उक्साउँदै गण्डकीका मुख्यमन्त्री

- संघीयता खारेज भए देश द्वन्द्वमा फस्ने चेतावनी


     एभरेस्ट आवाज    
     असार २० गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असार २०

पुराना दलहरुलाई बिस्थापित गर्दै नया शक्तिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाएको छ । केहि वर्ष अघिमात्र उदाएको यो पार्टीले गत निर्वाचनमा झण्डै दुईतिहाई मत पाएर सरकार बनाएको छ । सो पार्टीका बरिष्ठ नेता बालेन्द्र साह (बालेन) नेतृत्वमा सरकार बनेसँगै पुराना दलहरु रुष्ट छन् । अझ सरकारले गरेका पछिल्ला निर्णयप्रति ती दल र तिनका नेताहरु आक्रोषित छन् ।

त्यसमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि अछुतो छैनन् । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय पूर्णबहादुर खड्का निकट मुख्यमन्त्री पाण्डे बालेन सरकारप्रति पहिलेदेखि नै नकारात्मक थिए । झन् पछिल्लो पटक रास्वपा महाधिवेशनमा प्रदेश सभा खारेज गर्ने प्रस्ताव आएपछि उनी थप आक्रोषित भएका छन् । बेलाबेला संघ सरकारप्रति असन्तोष व्यक्त गर्दै आएका मुख्यमन्त्री पाण्डेले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा पनि आक्रोष लुकाउन सकेनन् ।

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले शनिबार पोखरामा आयोजना गरेको ‘गण्डकी मिडिया समिट’ कार्यक्रममा बोल्दै उनले पत्रकार र कर्मचारीलाई आन्दोलन गर्न उक्साए । सरकारी विज्ञापन सरकारी मिडियाबाहेक अन्यलाई नदिने निर्णयमा पत्रकार र कर्मचारी संगठन खारेज गर्ने निर्णयमा कर्मचारी संगठन बोल्न डराएको उनको आरोप छ । कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले आफूहरु सरकारबिरुद्धको आन्दोलनमा रहेको बताएको प्रसङ्ग कोट्याउँदै उनले पत्रकारको आन्दोलन फितलो भएको आसय व्यक्त गरे । अर्बौंको विज्ञापन बजारलाई सरकारले सरकारी मिडियामा मात्रै दिने निर्णय गर्यो,उनले भने,‘ यहि हो तपाईंहरुको आन्दोलन ? हिजो हामी पुराना दलहरु कांग्रेस, एमाले वा माओवादीको नेतृत्वमा सरकारले यहि काम गरेको भए तपाईंहरुको आन्दोलन यस्तै हुन्थ्यो ? कि योभन्दा अझ चर्को हुन्थ्यो ? सरकारले सम्बोधन गर्नु पथ्र्यो, गर्न बाध्य बनाउन सक्नुहुन्थ्यो कि हुँदैनथ्यो कि ? ।’ सरकारलाई घुँडा टेकाउनेगरी आन्दोलन गर्न उनले सुझाए ।

पत्रकारलाई आन्दोलनका लागि उक्साउने क्रममा उनले रास्वपा नेतृत्वको सरकार तानाशाही बन्दै गएको पनि आरोप लगाए । बालेन सरकारलाई सच्याउन दवाब दिनुपर्ने उनको भनाई थियो । यदि अधिनायकवाद अर्थात स्वतन्त्रतालाई हनन् गर्ने सोंचाई भएको सरकार आयो भने सबैभन्दा पहिलो प्रहार प्रेस जगतलाई नै हुने चेतावनी दिदै भने,‘तपाईंहरुको कलम भाँचिएपछि मात्रै मेरो आवाज थुनिन्छ । तपाईंहरुको मुख थुनिएपछि मात्रै मलाई जेल लगिन्छ ।’ किनकी त्योभन्दा पहिल्यै दलका नेताहरुलाई थुनियो भने पत्रकारले लेखिदिने र बोलिदिने खतरा हुने भएकाले पहिले पत्रकारको कलम भाँचिने उनको भनाई थियो । उनले २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले पहिलो प्रहार पत्रकारलाई नै गरेको दृष्टान्त दिदै त्यसतर्फ सचेत रहन आग्रह गरे ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री पाण्डेले कर्मचारी पनि बालेन सरकारबिरुद्ध आन्दोलन गर्न डराएको टिप्पणी गरे । मैले यहाँ सर्भे गरेर कुनै पनि कर्मचारी कटौती नगरी दरबन्दी मिलान गर्दा कर्मचारी साथीहरुले आन्दोलनको धम्की दिए,उनले भने,‘आज संघ सरकारले कर्मचारी संगठन, युनिययन खारेज गर्दा पनि कहिं बोल्न सक्नुभएको छैन ।’ उनले बालेन सरकार बनिसकेपछि गाइडेड प्रजातन्त्र चलिरहेको आरोप लगाए । हिजो बोल्न पाउने स्वतन्त्रता भए पनि अहिले पत्रकार, कर्मचारी बोल्न नसक्ने स्थिति रहेको बताउँदै उनले भने,‘यहि हो प्रजातन्त्र र गाईडेड प्रजातन्त्र बीचको फरक । अहिले मुलुक गाईडेड प्रजातन्त्रबाट चलिरहेको छ । कुन मन्त्रीलाई, प्रधानमन्त्रीलाई के लाग्छ आएर निर्देशन दिईहाल्छ ।’

मुख्यमन्त्री पाण्डेले संघीयता खारेज गरे देश द्वन्द्व फस्ने चेतावनी दिए । रास्वपाले प्रदेश सभा खारेज गर्ने निर्णय गरेको खबर सुने पनि आधिकारिकता प्रष्ट नभएको बताए । अस्ति भर्खरै रास्वपाको चितवनमा महाधिवेशनले प्रदेश सभा खारेज गर्ने प्रस्ताव गर्यो रे,उनले थपे,‘त्यो आधिकारिक हो कि होईन ? मलाई थाहा छैन । खास कुरा के हो यो ? संघीयता राख्ने नराख्ने, प्रदेश सभा खारेज गर्ने वा राख्ने । या सत्यतथ्य पत्रकारहरुले अनुसन्धान गरेर बाहिर ल्याउनुपर्यो । उनले हिजो पनि विविध कारणले देश द्वन्द्वमा गएको र फेरी पनि जाने खतरा रहेको औंल्याए । हिजो जुन परिवेशमा संघीयता ल्याईयो त्यसको जरो नखोतल्ने हो भने परिवर्तनको नाममा संघीयता खारेज गर्ने हो भने मेरो दाबी छ,उनले भने,‘मुलुक ढिलो चाँडो द्वन्द्वमा फस्छ । हिजो जसरी देश सशस्त्र द्वन्द्वमा गयो, फेरी द्वन्द्वमा फस्छ ।’ यसबिरुद्ध कलम चलाउन उनले पत्रकारलाई पुनः आग्रह गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।