सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, चार जिल्लामा अझै बाँकी


     एभरेस्ट आवाज    
     असार २३ गते २०८३ मा प्रकाशित




देशका बिभिन्न ७ जिल्लामा फैलिएको बर्डफ्लु नियन्त्रणमा आएको छ ।

झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आए पनि अझै ४ जिल्लामा भने नियन्त्रणमा आउन सकेको छैन । पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो । पशुसेवा विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्डफ्लु नियन्त्रणमा आउन सकेको छैन । रोगलाई नियन्त्रण गर्न विभागले प्रविधिक टोली परिचालन गरी सङ्क्रमित क्षेत्रका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डा मुकुल उपाध्यायले जानकारी दिए । रोग नियन्त्रणका क्रममा पशु क्वारेन्टाइन कार्यालयले उच्च सतर्कता अपनाएर गस्ती परिचालन गरी अवैध रुपमा पैठारी गरिएका पन्छी नष्ट गरिएको थियो ।

हाल रोग नियन्त्रणमा आएपश्चात् ओसारपसार खुकुलो बनाइएको विभागले जनाएको छ । विभागका प्रवक्ता उपाध्यायका अनुसार बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको सङ्क्रामक रोग भएकाले रोग देखा परेको क्षेत्रमा सङ्घ, प्रदेश तथा स्थानीय तहको समन्वय र सहकार्यमा आवश्यक जनशक्ति परिचालन गरिएको जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।