शिक्षकको नजरमा ‘मास्टर्नी’ गीत: मर्यादामाथि प्रहार र भविष्यमाथिको खेलबाड


     राधा रानाभाट     
     श्रावण १ गते २०८३ मा प्रकाशित




गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः भन्दै शिक्षकलाई भगवानको दर्जा दिने हाम्रो समाज आज कता जाँदैछ? भन्ने यो एउटा गम्भीर प्रश्न बनेको छ।

पछिल्लो समय न समाजले, न राष्ट्रले, न त कला र मनोरञ्जनको क्षेत्रले नै शिक्षकको गरिमालाई बुझ्न सकेको देखिन्छ। समाजको हरेक कुनामा, राज्यको उपेक्षापूर्ण नीतिमा र अहिले आएर सस्तो लोकप्रियता कमाउने नाममा कलाकारहरूबाट समेत शिक्षक वर्ग निरन्तर अपमानको सिकार भइरहेका छन्।यसैको पछिल्लो र निकै लज्जास्पद उदाहरण बनेको छ— चलचित्र ‘मास्टर्नी’ को विवादित गीत। कला र मनोरञ्जनको नाममा समाजलाई दिशाबोध गर्नुपर्ने चलचित्र उद्योगले उल्टै एउटा पवित्र र मर्यादित पेसालाई सस्तो, भ्रामक र अपमानजनक ढंगले प्रस्तुत गरेको छ। यस गीतले समाजमा नकारात्मक सन्देश मात्र फैलाएको छैन, हजारौं शिक्षक आफ्नो शिक्षण पेशा नै छोडेर अन्यन्त्र जानपर्ने बाध्यता अँगालेको छ।

आज देशका विभिन्न विश्वविद्यालय र क्याम्पसहरूमा लाखौँको संख्यामा विद्यार्थीहरू भोलि देशको कर्णधार बन्ने, असल नागरिक उत्पादन गर्ने र समाजलाई उज्यालो तर्फ डोर्‍याउने सपना बोकेर गुडिरहेका छन्। उनीहरू भोलिको शिक्षक बन्ने कडा मिहिनेतका साथ अध्ययन गरिरहेका छन्।तर, जब तिनै विद्यार्थीहरूले मिडिया र पर्दामा शिक्षक, विशेष गरी गुरुआमा मास्टर्नी को भूमिका र पेसालाई यसरी सस्तो र अमर्यादित रूपमा गिज्याइएको देख्छन्, तब उनीहरूको आत्मसम्मानमा कस्तो चोट पुग्छ होला? यस्ता हर्कतहरूले भविष्यमा शिक्षक बन्ने पवित्र चाहना बोकेका विद्यार्थीहरूको मनोबल पूर्ण रूपमा गिराउने काम गरेको छ। आफ्नो पेसाप्रति गर्व गर्नुपर्ने ठाउँमा, समाजले नै उनीहरूलाई हिनताबोध गराउने वातावरण सिर्जना गर्दैछ। यदि भोलिको पुस्ताले शिक्षक बन्नुलाई प्रतिष्ठाको विषय ठानेन भने, यो राष्ट्रको शैक्षिक भविष्य कस्तो होला रुकुनै पनि सभ्य समाजको निर्माणमा शिक्षकको भूमिका जग जत्तिकै बलियो हुन्छ। डाक्टर, इन्जिनियर, पाइलटदेखि देश चलाउने नेतासम्मलाई अक्षराम्भ गराउने तिनै शिक्षक हुन्। तर, आज तिनै राष्ट्र निर्माताहरूलाई चलचित्र र गीत संगीतका नाममा मजाकको पात्र बनाइँदैछ।

‘मास्टर्नी’ फिल्मको विवादित गीतले समाजमा शिक्षकप्रतिको दृष्टिकोणलाई धमिलो बनाउने र विद्यार्थी शिक्षक बीचको पवित्र सम्बन्धलाई समेत विकृत रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ। कलाको स्वतन्त्रताको अर्थ कसैको मर्यादा, पेसा र आत्मसम्मानको धज्जी उडाउनु कदापि हुन सक्दैन। चलचित्र मास्टर्नीको यो गीत केवल एउटा मनोरञ्जनको माध्यम मात्र होइन, यो त समग्र शिक्षक वर्ग र शिक्षा क्षेत्रमाथिको बौद्धिक र सांस्कृतिक प्रहार हो। यसले समाजमा पुर्‍याएको नकारात्मक असर र लाखौँ विद्यार्थीहरूको खस्कँदो मनोबललाई मध्यनजर गर्दै सम्बन्धित पक्षले बेलैमा सोच्नु आवश्यक छ। शिक्षकको गरिमा र प्रतिष्ठालाई धमिलो बनाउने उक्त विवादित गीतलाई तुरुन्त र विना सर्त सबै डिजिटल प्लेटफर्म र चलचित्रबाट हटाइयोस्।यदि समयमै यस्ता विकृतिलाई रोकिएन भने, यसले भोलिको नेपालको शिक्षा क्षेत्रलाई एउटा ठूलो संकटतर्फ धकेल्ने निश्चित छ। ‘शिक्षकको सम्मान गरौँ, राष्ट्रको भविष्य सुरक्षित गरौँ।’

(रानाभाट श्री त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालय पोखरा ३० कास्कीको शिक्षक हुन् ।)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।