गणतन्त्रका उपलब्धिको रक्षाका लागि एकजुट हुन नेकपा संयोजक प्रचण्डको आग्रह


     एभरेस्ट आवाज    
     श्रावण ७ गते २०८३ मा प्रकाशित




नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि आर्थिक, सामाजिक र मानवीय विकासका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आज कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा उनले गणतन्त्रका उपलब्धिको रक्षार्थ प्रगतिशील शक्ति एकजुट हुनुपर्ने बताएका हुन् । संयोजक दाहालले उत्पीडित वर्ग तथा समुदायले प्राप्त गरेका हकअधिकार र उपलब्धि रक्षा गर्नुपर्नेमा जोड दिए । “कम्युनिष्ट आन्दोलनलाई गोलबन्द गर्दै गणतन्त्रवादी शक्तिलाई एउटै मोर्चामा ल्याउन तथा राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर अघि बढिएको छ,” उनले भने ।

त्यस अवसरमा नेकपाका सहसंयोजक माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, मदन भण्डारी, तुलसीलाल अमात्य, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायत नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका राष्ट्रिय व्यक्तित्वको सम्मान गर्नुपर्नेमा जोड दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।