सत्याग्रहको आन्दोलन फिर्ता लिन डा. गोविन्द केसीलाई दबाब


     एभरेस्ट आवाज    
     श्रावण ८ गते २०८३ मा प्रकाशित




हिजोदेखि धनगढीमा २४ औं सत्याग्रह जारी राखेका डा. गोविन्द केसीलाई आन्दोलन फिर्ता लिन दबाब बढेको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका केसीलाई रास्वपाका सांसद देखि धनगढीकै केही संस्थाले अनसन स्थगित गर्न दबाब दिएका हुन् ।धनगढीको कृष्ण मन्दिर व्यवस्थापन समितिले सत्याग्रह थालेका प्राध्यापक डाक्टर केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ । धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले केसीलाई शुक्रबार बिहान पत्र काट्दै अनसनरत केसीलाई छाड्न अनुरोध गरेको हो । अध्यक्ष पन्तले केसीलाई धर्मशाला छाड्न पत्र दिइएको कुरा पुष्टि गरेका छन् । बिहीबार बिहान अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले पन्तलाई डाक्टर केसीलाई धर्मशालामा अनसन बस्न नदिन अनुरोध गरेका थिए ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले डा. केसीलाई आफ्नो अनशन तत्काल फिर्ता लिन आग्रह गर्दै अन्यथा प्रतिअनशनमा बस्ने चेतावनी दिएको छ। समितिका संयोजक लोकराज पाण्डेले शुक्रबार भिडिओ सन्देश जारी गर्दै विश्वविद्यालय सुदूरपश्चिमबासीको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि भएकाले यसको विरोध कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका हुन्। उनले डा. केसीले सुरु गरेको अनशन तत्काल फिर्ता लिन आग्रह गरे। फिर्ता नलिए सरकार र डा. केसीविरुद्ध नै प्रतिअनशन सुरु गर्न बाध्य हुने चेतावनीसमेत दिए। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले पनि केसीलाई आमरण अनशन तोडेर प्रधानमन्त्रीसँग सिधै छलफल गर्न आग्रह गरेकी छन्।डा कार्कीले सामाजिक सञ्जालमा एक अपिल सार्वजनिक गर्दै वर्तमान सरकार जनताको सेवक भएकाले विगतका सरकारलाई जस्तो ज्यानको बाजी राखेर खबरदारी गरिरहनु नपर्ने बताएकी हुन्। उनले डा. केसीका जायज मागहरू तत्काल सम्बोधन गर्न आफूले शिक्षामन्त्री र प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराइसकेको समेत जानकारी दिएकी छन्।

विगतका सरकारहरूले शरीर गलेपछि, आन्दोलन चर्किएपछि र जनदबाब बढेपछि मात्र माग सम्बोधन गर्ने गरेको स्मरण गर्दै उनले अहिलेको सरकारले त्यो अवस्था कुर्न नहुने भन्दै तत्काल माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।सांसद कार्कीले सुदूरपश्चिमको गेटास्थित सहिद दशरथ चन्द विश्वविद्यालयको विषयलाई लिएर डा। केसीको बदनाम गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएकी छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।