पोखरा, साउन १२
पुराना दलहरुले सुकुमबासी समस्या समाधानमा ध्यान दिएनन् । बरु सँधै भोटबैंक बिग्रिने डरले गिजोलिरहे । एउटा सरकारमा रहँदा अर्को पक्षले विरोध गर्ने, अनि प्रतिपक्षमा बसेको दल सरकारमा पुगेका बेला फेरी अर्को पक्षले विरोध गर्ने प्रक्रिया दशकौं वर्ष चलिरह्यो । किनकी सुकुमबासी समस्या समाधान भएमा भोट राजनीति बिग्रिनेमा उनीहरु चिन्तित थिए, नकी सुकुमबासी समाधान समाधानप्रति । जसका कारण चार दशकसम्म पोखरा बसपार्कका सुकुमबासीले लालपूर्जा पाएनन् । उल्टै राजनीतिक दलका अगुवाहरुले नक्कली सुकुमबासी खडा गरेर बसपार्कको जग्गा हडपे । रत चार दशक बित्दासमेत पोखरेलीको बसपार्क बनाउने सपना अधुरै रह्यो ।
बसपार्क नबन्नुमा सुकुमबासीलाई बाधक बनाइयो । तर सुकुमबासीका नाममा राजनीति गर्न छाडेनन् । यो क्रम अझै रोकिएको छैन । अहिले पनि सुकुमबासीका नाममा राजनीति जारी छ । चाहे त्यो पुराना दलहरु हुन् वा जान्नेलाई छान्ने भन्दै स्थापित भएको नया दल । कोहि भन्दा कोहि कम छैनन् । त्यो पुरानो रोग अहिले पोखराको बसपार्कमा रहेका सुकुमबासी समस्या समाधानमा दोहोरिदै छ, र समस्या गिजोलिदै छ ।
पोखरा बसपार्क निर्माण गर्ने भन्दै पोखरा महानगरपालिकाले अहिले बसपार्क क्षेत्र खाली गर्ने अभियान सञ्चालन गरिरहेको छ । बसपार्क भित्रका नीजि संरचनाहरु महानगरले स्थानियसँग सम्झौता गरेर खाली गराईसकेको छ । सुकुमबासीलाई पनि पटक÷पटक घर, टहरा खाली गर्न भन्दै महानगरले विज्ञप्तीबाजी ग¥यो । तर स्थानियले बिना विकल्प नछाड्ने अडान लिएपछि महानगर आफ्नो निर्णयबाट पछि हट्यो । यस बिचमा महानगरले सुकुमबासी पहिचान गर्न र वास्तविक सुकुमबासीको वैकल्पिक व्यवस्था गर्न सुकुमबासी छानविन समिति र जग्गा सिफारिस समिति बनाएर काम गरिरहेको छ । सो छानविन समितिले पृथ्वीचोक बसपार्कमा बसोबास गर्ने करीब ५ सय ५ सय ७२ सुकुमबासी तथा अव्यवस्थितका घरटहरामध्य २ सय ९९ परिवार मात्रै सुकुमबासी रहेको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ । बाँकी सबै अव्यवस्थित बसोबासी रहेको र उनीहरुलाई वैकल्पिक व्यवस्था गर्न नसकिने पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले जनाएका छन् । उनले भनेका थिए्,‘अन्यको गाउँमा जग्गा भेटियो । वास्तविक सुकुमबासीको अन्तिम नामावली एकहप्ता भित्र सार्वजनिक गरिनेछ ।’ मेयर आचार्यले घोषणा गरेको एकहप्ता कटिसकेको छ तर सुकुमबासीको अन्तिम नामावली भने प्रकाशन भइसकेको छैन ।
यसैबीच, सुकुमबासीको नाममा फेरी फोहोरी राजनीति शुरु भएको छ । सुकुमबासीको नाममा नेकपाबाट निर्वाचित पोखराका मेयर आचार्य र जान्नेलाई छान्ने राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद उत्तम पौडेलबीच फोहोरी राजनीति शुरु भएको हो ।
कास्की क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य (सांसद) पौडेलले पोखरा बसपार्कका सुकुमबासीलाई घर, घरमा पुगेर लालपूर्जा वितरण गर्ने घोषणा गरेसँगै नया र पुराना दलका प्रतिनिधीबीच सामाजिक सञ्जाल फेसवुकमा दोहोरी चल्न थालेको छ । रास्वपा) सांसद पौडेलले सुकुमबासी भेला पारेर बसपार्कका सबै सुकुमबासीलाई अस्पताल र विद्यालयसहितको व्यवस्थित बस्ती निर्माण गरेर लालपूर्जा वितरण गर्ने घोषणा गरेलगत्तै मेयर आचार्यले जवाफ फर्काउँदै आफ्नो औकातमा बस्न सुझाएका छन् ।
सुकुमबासी भेलामा सांसद पौडेलले भनेका छन्,‘लालपुर्जाको कानुन बनाउनका लागि संघीय संसदमा तपाईंहरूको आवाज बोलिरहेको छु, मिलेसम्म तीन महिना भित्रै लालपूर्जा लिएर आउँछु, यसका लागि भूमि व्यवस्था मन्त्री प्रतिभा रावलसँग दिनदिनै कुरा भइरहेको छ ।’ उनले बच्चालाई पढ्ने विद्यालय र ज्येष्ठ नागरिकलाई सहजै उपचार गर्ने अस्पताल बस्तीमै बनाउने वाचा गरे । भने,‘तपाईंको बच्चा बस्तीको विद्यालयमा पढ्न जान्छ । बुढा बा–आमा छेउको अस्पतालमा उपचार गर्न पाउनुहुन्छ ।’
सांसद पौडेलको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पोखराका मेयर आचार्यले आफ्नो हैसियत नबिर्सन पौडेललाई चेतावनी दिदै जवाफ फर्काएका छन् । सुकुमबासीलाई उक्साएर सुकुमबासी समाधानमा सांसद पौडेलले अवरोध पु¥याएको आरोप लगाउँदै उनले सक्ने भए सांसद र स्थानिय सरकारको अधिकार परिवर्तन गर्न चुनौति दिएका छन् । उनले चुनौति दिदै भनेका छन्,‘माननीय सांसद उत्तम पौडेलज्यू, प्रतिनिधि सभा सदस्यका रूपमा तपाईंलाई रहेको अधिकार प्रयोग गर्दै स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरी सुकुम्बासी व्यवस्थापनसम्बन्धी स्थानीय तहको अधिकार र जिम्मेवारी परिवर्तन वा खारेज गर्ने कानुनी प्रक्रिया अघि बढाउनुहोस् । त्यो तपाईंको संवैधानिक अधिकार क्षेत्र भित्रको विषय हो ।’
मेयर आचार्यले कास्कीमा २० हजार १ सय ६ परिवारले निस्सा पाएको बताउँदै सबैलाई लालपूर्जा दिन असम्भव रहेको स्पष्ट पारेका छन् । बास्तविक सुकुमबासीको लगत संकलन भइरहेका बेला सुकुमबासी समस्यामा अवरोध सिर्जना गर्नेगरी पौडेलले अभिव्यक्ति दिएको भन्दै उनले थपेका छन्,‘यदि तपाईंले भनेजस्तै घर–घरमा लालपुर्जा वितरण गर्न सम्भव छ भने कृपया स्पष्ट योजना सार्वजनिक गर्नुहोस् । कति समयमा, कुन कानुनी प्रक्रियाअन्तर्गत र कहाँबाट २० हजारभन्दा बढी परिवारलाई लालपुर्जा वितरण गर्नुहुन्छ ? ।’ उनले सुकुमबासी बस्तीमा जथाभावी डोजर नचलाउने प्रतिबद्धता जनाउँदै वैज्ञानिक ढंगबाट समाधान खोजिने बताएका छन् । सुकुमबासीको भेला गरेर भ्रमित वा उत्तेजित पार्ने अभिव्यक्ति नदिन चेतावनी दिदै उनले भने,‘सुकुम्बासी व्यवस्थापन र पोखरा बसपार्क बनाउने अभियानमा अवरोध सिर्जना नगर्नसमेत सांसद पौडेल ज्यूलाई आग्रह गर्दछु ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





