प्रतिनिधि सभामा विपक्षीदलद्वारा सरकारको आलोचना, एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा


     एभरेस्ट आवाज    
     श्रावण १४ गते २०८३ मा प्रकाशित




प्रतिनिधिसभाको जारी बैठकमा विपक्षी दलका सांसदहरुले सरकारको आलोचना गरेका छन् ।

झण्डै दुई सातापछि बसेको बैठकमा सांसदहरुले सुनसरीमा भएको घटनामा सरकारको भूमिका नदेखिएको भन्दै, सरकार पुर्ण रुपमा असफल भएको दावी गरे । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको कप्तानगञ्जमा गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै सरकारलाई प्रश्न गरेकी छन् । उनले एकजना युवाको मृत्यु हुँदा संवेदनशीलता कहाँ हरायो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरिन् । प्रधानमन्त्रीको मौनताले नागरिकमा भरोसा हराएको पनि उनले बताइन् ।एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले सुनसरी घटनालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिन पर्छ कि पर्दैन भनेर प्रश्न गरिन् । देशमा दंगा भइरहँदा प्रधानमन्त्री गुमनाम बनेको उनको टिप्पणी छ ।उनले मुलुकमा सङ्कट पर्दा प्रधानमन्त्री र सरकार कहाँ छ भन्ने प्रश्न गर्दै सङ्कटका बेला जनतासँग सरकारले संवाद गर्नुपर्ने बताइन् ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले पनि संसदमा बोल्दै सरकार कहाँ छ भनेर प्रश्न उठाए । सांसद शर्माले सुनसरीको कप्तानगञ्जमा भएको घटनाले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको तर, प्रधानमन्त्री संसदमा आएर देशबासीलाई जानकारी दिनुपर्नेमा त्यसो नगरेको बताए ।श्रम संस्कृति पाटीका सांसद आर्यन राईले पनि देशमा हिंसा भइरहेको बेलामा सरकार बेखबर भएको भन्दै अँध्यारो कोठाबाट निस्कनुपर्ने बताए ।‘राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले प्रधानमन्त्रीले प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै लेखेको स्टाटसमा प्रश्न उठाएकी छन् ।अनुसन्धान नै नगरी प्रधानमन्त्रीले स्टाटसमा प्रहरीको गोलीबाट मृत्यु भएको बताएको भन्दै कुन अध्ययनले प्रहरीको गोलीबाट मृत्यु भएको पुष्टि भएको हो भन्दै प्रश्न उठाइन् ।

बैठकमा नेकपा संसदिय दलका नेता एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन् । बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।