मधेशमा विकसित समस्या समाधान गर्न प्रधानमन्त्री शाह सक्रिय, मधेशवादी नेताहरु र रास्वपा सांसदसँग छलफल


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०८३ मा प्रकाशित




प्रधानमन्त्री बालेन्द्र शाहले तराई मधेशका केही जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न सरकार लागिपरेको बताएका छन् ।

आइतबार राती सुनसरीमा दुई पक्षबिचको झडप र त्यसबाट उत्पन्न समस्या अन्य जिल्लामा पनि बढ्दै गएपछि आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग भएको छलफलमा उनले नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको बताएका हुन्।प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अंगहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गरे। उनले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नुमा रहेको बताए।

शान्ति(सुरक्षालाई चुस्त, दुरुस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको प्रधानमन्त्री शाहले बताए।त्यस क्रममा प्रधानमन्त्री शाहले सबै सांसदहरूलाई आआफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न आह्वान गरे। सांसदहरूले पनि प्रधानमन्त्री शाहको अनुरोधलाई सकरात्मक रूपमा लिँदै आफूहरू तत्कालै आ आफ्ना निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाए। स्थानीय स्तरमा दीर्घकालीन शान्ति र भ्रातृत्व कायम राख्नका लागि दुवै पक्षका धार्मिक गुरुहरू, नागरिक समाज, बुद्धिजीवी र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूसँग सघन संवादको शृंखलालाई निरन्तरता दिनुपर्ने सुझाव सांसदहरूले प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री शाहले आजै मधेशवादी दलका नेताहरुसँग पनि छलफल गरेका छन् ।छलफलका क्रममा नेताहरुले सघीयतालाई थप सुदृढ पारेर अगाडी बढ्न सुभलाव दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।