सिरहा घटनामा मृत्यु भएका यादवको आज अन्त्येष्टि गरिदैं, परिवार र सरकारबीच ७ बुँदे सहमति


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०८३ मा प्रकाशित




सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका युवाका परिवार र सरकारबिच ७ बुँदे सहमति भएको छ ।

सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । सहमति पछि यादवको शव बुझेर अन्त्येष्टि गर्न परिवार तयार भएको छ । सहमति अनुसार आज अपरान्ह अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । अन्त्येष्टिका लागि आवश्यक खर्चसमेत सरकारले उपलब्ध गराउने बताईएको छ । यादवको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । त्यहाँबाट शव सिरहा ल्याएर परिवारलाई जिम्मा लगाइने गृहमन्त्री सुधन गुरुङले जानकारी दिए ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री गुरुङ र मृतकका बुबा रामवृक्ष यादवले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा घटनाको सत्यतथ्य छानबिन गरिने, गणेशलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाइ र बहिनीलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, उनका बुबाआमालाई समेत सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र शव बुझेर दाहसंस्कार गरिने सहमति भएको छ। दाहसंस्कारका लागि आवश्यक खर्चसमेत सरकारले उपलब्ध गराउने सहमति भएको छ ।

शुक्रबार अपरान्ह नै सिरहातर्फ लागेका गृहमन्त्री गुरुङ राती अबेरमात्र मृतक यादवको घर पुगेका थिए । लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् उनी यादवको घर पुगेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।