मदरल्याण्ड माविमा संयुक्त राष्ट्रसंघको नमूना सभा


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०८३ मा प्रकाशित




पोखराको मासवारस्थित मदरल्याण्ड माविले नमूना युएन (संयुक्त राष्ट्र संघ) सभा आयोजना गरेको छ ।

विद्यालय तहका विद्यार्थी सहभागि मदरल्याण्ड नमूना युएन सभामा भाग लिन कास्की सहित विभिन्न आठवटा जिल्लाका विद्यार्थी पोखरा आएका छन् । विद्यालयले आयोजना गरेको यो आठौं नमूना सभा हो । विद्यालय तहका विद्यार्थी सहभागि भएको यो नमूना सभामा विभिन्न विषयमा दुईदिनसम्म बहस हुनेछ ।मदरल्याण्ड माविको आयोजना र नेपाल–अमेरिका अलुम्नाई नेटवर्क (नुसान)को संयोजनमा भएको यो कार्यक्रममा कक्षा १२ सम्मका विद्यार्थी सहभागि छन् । उनीहरुले विभिन्न मुलुकको प्रतिनिधित्व गर्दै यूएनको यो नमूना बैठकमा सहभागिता जनाउने कार्यक्रम संयोजक बामन घिमिरेले जानकारी दिए । करिब तीनसय जना विद्यार्थीलाई विभिन्न आठवटा समूहमा विभाजन गरेर यो अभ्यास गराइने उनले बताए । नेतृत्वको जिम्मेवारी, एकअर्कामा समझदारी, विषयबस्तुप्रतिको गाम्भिर्यताबारे पनि यो बैठकका अभ्यास हुने उनले बताए । विद्यार्थीले आफुसँग भएको ज्ञान र बोल्ने कलालाई पनि यही बैठकमा प्रस्फुटन गराउन पाउने अवसर यो नमूना बैठकले दिएको उनले बताए ।

नुसान गण्डकी संयोजक विभूती न्यौपानेले यो अभ्यासले विद्यार्थीमा रहेको ज्ञान साटासाट गर्ने अवसर मिल्ने बताईन । नुसानका सदस्य समेत दीपेन्द्र श्रेष्ठले कलिलो उमेरमा यूएनको अनुभव लिन पाउने यो मौका विद्यार्थीका लागि निकै नै महत्वपूर्ण रहेको बताए । ‘यूएनको बैठक कसरी संचालन हुन्छ र त्यहाँ कस्ता विषयका बहस हुन्छ भन्ने थाहा पाउनु निकै नै महत्वपूर्ण हो । यसले विद्यार्थीमा बहस र तर्क गर्ने क्षमताको समेत विकास हुन्छ,’ उनले भने । अर्का सदस्य सन्तोष पौडेलले युवापुस्तालाई चाँसो नै नभएको यस्तो विषयबारे नमूना सभामार्फत ज्ञान दिलाउन प्रयास गरिएको बताए । ‘अब त सूचना पाउने मात्र होईन । बुझ्ने प्रयास पनि गर्नुपर्छ । यूएन सभामा हुने बैठकको सूचना पाएर मात्र हुँदैन, त्यहाँ के कस्ता विषयमा बहस र छलफल हुन्छ भनेर बुझ्नुपर्छ,’ उनले भने । गत माघमा मदरल्याण्ड माविका विद्यार्थीले संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिएका थिए ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भएको उक्त सम्मेलनमा मदरल्याण्डका ६ जना विद्यार्थी सहभागि भएका थिए । संयुक्त राष्ट्रसंघकै सभाको शैलीमा आयोजना भएको त्यो नमूना सभामा नेपालको तर्फबाट मदरल्याण्ड मात्र छनोटमा परेको थियो । सहभागि विद्यार्थीले उक्त सभामा विभिन्न विषयमा छलफल र बहस समेत गरेका थिए । मदरल्याण्डकै विद्यार्थी कृपा बरालले उक्त सभामा समेत मन्तव्य दिएकी थिईन । पोखरामा भएको यो नमूना सभाले विद्यार्थीमा विश्वव्यापी विषयबारे थाहा पाउने विद्यालयका निर्देशक डा. त्रिभुवन शर्माले बताए । विश्वव्यापी समस्यालाई कसरी सम्बोधन हुन्छ र समाधानको तरिका के रहेछ भनेर थाहा पाउन सकिने उनले बताए । विद्यालयका प्राचार्य डा. नारायण बरालले विद्यार्थीलाई कक्षाकोठाले परीक्षाको लागि तयार पार्ने भएपनि मदरल्याण्ड माविले विद्यार्थीमा जीवनका लागि सीप सिकाउने प्रयास स्वरुप यो कार्यक्रम आयोजना गरेको बताए ।

विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले विद्यार्थीका लागि यो अभ्यास नौलो रहेको बताए । पोखरा महानगरपालिका–७ का वडाध्यक्ष राममोहन आचार्यले विद्यार्थीमा बहस र तर्क गर्ने क्षमता बिस्तारका लागि यो अभ्यास जरुरी रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।