पोखरा । अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित निःशुल्क आँखा शिविरमा करिब पाँच सय जनाले सेवा लिएका छन्। शिविरमा १६ विद्यार्थीलाई निःशुल्क चस्मा उपलब्ध गराउन र छ अभिभावकलाई मोतियाविन्दुको निःशुल्क शल्यक्रियाका लागि हिमालयन आँखा अस्पताल घारीपाटन रिफर गरिएको छ।
पूर्व विद्यार्थी मञ्च माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसको आयोजनामा भएको शिविरमा अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग, हिमालयन आँखा अस्पताल घारीपाटनको प्राविधिक सहयोग र विद्यालय तथा क्याम्पसको स्थानीय व्यवस्थापन रहेको थियो।
शिविरमा विद्यार्थी, शिक्षक, अभिभावक तथा आसपासका समुदायका नागरिकको आँखा परीक्षण गरिएको थियो। परीक्षणपछि आवश्यकताअनुसार औषधि वितरण गरिएको थियो भने अभिभावकलाई पढ्नका लागि आवश्यक पावरवाला चस्मासमेत उपलब्ध गराइएको मञ्चले जनाएको छ।

अन्नपूर्ण गाउँपालिकाकी उपप्रमुख चन्द्रकला अधिकारी देवकोटाले पूर्व विद्यार्थी मञ्चले विद्यालय र समुदायका लागि महत्वपूर्ण काम गरेको बताइन्। स्थानीय तह, विद्यालय, अस्पताल तथा पूर्व विद्यार्थीबीचको समन्वयमा कार्यक्रम सफल भएको भन्दै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन्।
छ जना अभिभावकको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया र १६ विद्यार्थीलाई निःशुल्क चस्माको व्यवस्था हुनु सामान्य उपलब्धि नभएको उनले बताइन्। यसबाट अभिभावक र विद्यार्थीको उपचार तथा चस्मामा हुने खर्चसमेत बचत हुने उनको भनाइ थियो।
मञ्चका अध्यक्ष फणिन्द्रप्रसाद अधिकारीले पूर्व विद्यार्थी मञ्चले आयोजना गरे पनि कार्यक्रमलाई सबैको साझा कार्यक्रमका रूपमा लिएको बताए। विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै विद्यालयको शैक्षिक प्रगतिमा योगदान गर्ने उनले प्रतिबद्धता जनाए।
पूर्व विद्यार्थी मञ्चले २०६४ सालदेखि विभिन्न रचनात्मक तथा सामाजिक गतिविधि गर्दै आएको छ। मञ्चले आगामी दिनमा पनि विद्यालय र समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २४ साउन । सहारा फुटबल एकेडेमीको सहयोगार्थ पोखरामा शनिबार ‘समर हाइकिङ…






