नेवार समुदायमा घण्टाकर्ण पर्व मनाइँदै


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०८३ मा प्रकाशित




सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ ।

श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई गठामङ्गल पनि भनिन्छ । परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।

पर्वको तयारीका लागि आज बिहानै स्नान, घर–आँगन सफा गरी पूजापाठ गरिन्छ । केटाकेटीले बाटामा डोरी टाँगेर पैसा ९जगात्० माग्ने र राति राँको बाली गठामङ्गल नामक राक्षसको प्रतीकलाई घिसार्दै जलाइन्छ ।गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने परम्परा नेवार समुदायमा रहेको इतिहास एवं संस्कृतिविद् प्रकाश श्रेष्ठ ‘सक्व’ले बताए ।

जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त गर्नुका साथै आर्थिक र भौतिक उन्नतिका लागि घण्टाकर्णको पूजा आराधना कार्यलाई महत्वपूर्ण मानिन्छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।