मन्त्रिपरिषद् बैठकः सुनसरी र सिरहा घटनामा मृत्यु भएकालाई सहिद घोषणा


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०८३ मा प्रकाशित




सरकारले सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहता तथा सिरहाका गनेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय भएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए ।

पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित ‘एनसेल’ को शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णयसमेत बैठकले गरेको छ । यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स तथा शववाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर पूर्णरूपमा छुट दिने निर्णय गरेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।