सन्देश श्रेष्ठ
पोखरा, साउन ३१
गण्डकी खेलकुद परिषद् (गखेप)को पदक वितरणमा भएको अनियमितताको छानबिनलाई प्रभावित पार्न गखेप सदस्य सचिव श्रीधर शर्मा सकृय भएका छन् । मन्त्री स्तरीय निर्णयका आधारमा गत साउन २४ गते गठन भएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.शेषनारायण पौडेल नेतृत्वको ३ सदस्यीय छानविन समितिले पदक वितरणको समग्र अवस्थाको छानविन गरिरहेका बेला सदस्य सचिव शर्मा छानविन प्रभावित गर्न लागिपरेका हुन् ।
पहिलो पटक दिइएको साउन २९ गतेसम्मको समयअवधीमा छानविन नसकिएपछि ३ दिन थपेर गखेप कार्यकारिणी सदस्यहरुसँग वयान लिने क्रम चलिरहेका बेला सदस्य सचिव शर्माले चलखेल शुरु गरेका छन् । उनले वयानमा जाने सदस्यहरुलाई आफूलाई बचाउने गरि वयान दिनका लागि आग्रह गर्दै फोन र म्यासेज गरेको पाइएको छ । फोन उनले आफूलाई फसाउने गरि वयान नदिन आग्रहसहित फोन गरेको एक सदस्यले जानकारी दिए । उनले भने,‘हिजोको गल्तीलाई लिएर छानविन भइरहेको छ, गल्ती पुष्टि हुनेगरी हजुरहरुले बोलिदिनु भएन । म के बोल्ने म्यासेजमा पठाउँछु, सोहि अनुसार बोलेर बचाईदिनु प¥यो ।’

उनको सो आग्रहपूर्ण फोन राखेलगत्तै ह्वाट्सअपमा म्यासेज पठाएको पाइएको छ । जसमा उनले पदक वितरण कार्यविधी अनुसार नै भएको जिकीर गरेका छन् । फोनमा आफूलाई बचाउने गरि वयान दिन आग्रह गरेका उनले म्यासेजमा भने कार्यविधि अनुसार नै पदक सिफारिस समिति बनेको, पदक सिफारिस समितिको बैठक नियमित बसेर उपयुक्त पात्रहरुलाई पदक दिने निर्णय भएको र सोहि निर्णयका आधारमा पदक वितरण भएको भनेर पठाएको अर्का एक सदस्यले बताए । सिफारिस समितिका ती सदस्यले भने,‘हामीले बैठकमा थाहा नपाएका कुरा अहिले सदस्य सचिवले पठाएको म्यासेजबाट थाहा पाएका छौं । जुन म्यासेज अनुसार वयान दिन हामीलाई भनिएको छ ।’

तर सदस्य सचिवको आग्रहका बाबजुद ती सदस्यहरुले उनी अनुकुल वयान नदिएको बुझिएको छ । निर्णय प्रक्रियाबारे आफूहरुलाई जानकारी नदिईनुका साथै मिलमतोमा पदक वितरण भएकोप्रति असन्तुष्टि जनाउँदै वयान दिएको स्रोत बताउँछ । एक सदस्यले भने,‘हामी पनि सदस्य सचिवलाई बचाउने पक्षमा छैनौं, किनकी यिनी कानूनको विद्यार्थी भन्ने तर जालझेल गर्ने रहेछन् । उनको कारणले हामीले पनि दुःख पाइयो ।’
साउन २९ गतेसम्म रहेको छानविन समितिको म्याद ३ दिन थपेर भदौ १ गतेसम्म पु¥याइएको छ । समितिले प्रमाणहरु मगाएर अध्ययन गर्नुका साथै निर्णय प्रक्रियामा रहेका तथा पदक सिफारिस समितिमा रहेकाहरुसँग लिखित तथा मौखिक बयान लिएका छन् । अहिले भने प्रतिवेदन लेख्ने काम भइरहेको छानविन समितिका संयोजक तथा मन्त्रालयका सचिव शेषनारायण पौडेलले जानकारी दिए । उनले भने,‘छानविनको काम सकिएको छ । हामी अहिले प्रतिवेदन लेखनको अन्तिम चरणमा छौं ।’
गखेप सदस्य सचिव श्रीधर शर्माले सेटिङमा पदक वितरण गरेको आरोप लागेको छ । उनले पदक सिफारिस समितिको निर्णयविपरीत पदक वितरण गरेको, आफ्नो मान्छेलाई पदक दिएको, कार्यविधिविपरीत पदकसँगै रकमसमेत वितरण गरेकोलगायतका आरोप लागेका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, साउन ३१ पोखरामा लोपोन्मुख लाखेनाच संरक्षणको प्रयास भएको छ ।…





