पोखरामा लाखेनाच संरक्षणमा मालेपाटन तायाःमचा समिति


     एभरेस्ट आवाज    
     श्रावण ३१ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, साउन ३१

पोखरामा लोपोन्मुख लाखेनाच संरक्षणको प्रयास भएको छ । मालेपाटन तायाःमचा नाच समिति पोखरा–५ ले नेवारी समुदायको अनुपम संस्कृति लाखेनाच संरक्षणको प्रयास गरेको हो । नेवाःखल कास्कीको संरक्षणमा लाखेनाच संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन र पुस्तान्तरणको प्रयास स्वरुप शनिबार पोखरा–५ मालेपाटनस्थित वाराही माविको खेल मैदानमा तेस्रो संस्करणको लाखेनाच प्रदर्शन सम्पन्न भएको छ ।

पोखरामा लाखेनाच लोपोन्मुख अवस्थामा पुगेपछि नया पुस्तामा लाखेनाचप्रति आकर्षण जगाउन तीन वर्षअघि शुरु भएको लाखेनाच प्रदर्शन यस वर्ष पनि भव्य रुपमा भएको हो । जहाँ एउटै मञ्चमा कास्कीसहित तनहुँ, बागलुङ र पर्वतका २० वटा लाखेनाच समूहले प्रस्तुती दिएको कार्यक्रम संयोजक विनय श्रेष्ठले जानकारी दिए । उनका अनुसार मालेपाटन तायाः मचा समितिले नाचको शुरुवात गरेपछि नेवार कल्याण समाज पर्वत, नेपाल राष्ट्रिय खड्गी समाज पोखरा–२, बागलुङको नारायणस्थान हटिया समाज, पोखरा–६ स्थित बैदाम नेवाः खल, जाल्पा देवी ल्याम्ह पुचः सिमलचौर पोखरा, हेमजा नेवा खल पोखरा–२५, चण्डेश्वरी नेवा समाज पोखरा–१४ को प्रस्तुती दिएका थिए । त्यस्तै रानीपौवा रामबजार तायाः मचा समिति, रानीपौवा खड्गी समाज, रातोपैह्रा लाखे खल पाखरा–१४, कुँडहर राधाकृष्ण मन्दिर पोखरा–१३, राष्ट्रबैंक चोक ड्यामसाइड नेवा खल, पृथ्वीचोक ल्याम्ह पुचः, जोजोलपा लाखे, तेर्सापट्टी यमलोकको लाखे, मोहरिया सिंहनाथ टोल तायाः मचा समिति पोखरा–१, गैह्रापाटन नेवा समाज पोखरा–४, नयाँबजार ल्याम्ह पुचः पोखरा–९ र नव पञ्चाली लाखे समूह पोखरा–२ लगायतको प्रस्तुती रहेको थियो ।

अप्रतियोगितात्मक कार्यक्रम बीसौं हजार दर्शकको माझमा भएको थियो । जहाँ पानीको प्रवाह नगरी दर्शकले नाच अवलोकन गरेका थिए । विहान १० बजेदेखि शुरु भएको प्रदर्शन राती १० बजेसम्म पनि जारी रहँदा पनि दर्शकहरु मन्त्रमूग्ध भएर हेरिरहे । जसले आयोजकलाई आगामी दिनमासमेत कार्यक्रम गर्न हौसला मिलेको संयोजक श्रेष्ठको भनाई छ ।

कार्यक्रममा नेवारी संस्कार, संस्कृति झल्कने बाजा, भेषभूषासँगै नेवारी खानाका परिकारहरु पस्किदा नया तथा पुरानो पुस्ता रमाईरहेका थिए । यसले संस्कृति संरक्षणसँगै स्थानिय उत्पादनकोसमेत खपतमा सघाएको श्रेष्ठले बताए । उनले भने,‘हाम्रो उद्धेश्य संस्कृति संरक्षणसँगै पुस्तान्तरणमा पनि सघाउने हो, सँगसँगै स्थानिय उत्पादनको खपतले अर्थतन्त्र चलायमान गराउन पनि भूमिका खेल्यो ।’

कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले यस प्रकारका कार्यक्रमले लोपोन्मुख संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताईन् । उनले भनिन्,‘संस्कृति जोगाउनु हाम्रो दायित्व हो । यसमा मालेपाटन तायाःमचा समितिले उदाहरणीय कार्य गरेको छ ।’

नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले संस्कृति कुनै जातीको पहिचान भएकाले त्यसको संरक्षण गर्नु आवश्यक रहेको बताए । पछिल्लो समय मालेपाटन तायाःमचा समितिले लाखेनाच संरक्षणमा देखाएको जागरुकताप्रति धन्यवाद दिदै उनले भने,‘संस्कृति बचाएमात्रै हाम्रो अस्तित्व र पहिचान पनि बच्छ । त्यसैले संस्कृति संरक्षणमा सबै लागौं ।’

कार्यक्रमको अध्यक्षता गरेका कार्यक्रम संयोजक विनय श्रेष्ठले लाखेनाच नेवार समुदायको मौलिक सांस्कृतिक र परम्परा भएकाले यसको संरक्षण र नया पुस्तामाझ हस्तान्तरणका लागि मैत्रीपूर्ण प्रदर्शन आयोजना गरिएको स्पष्ट पारे । उनले भने,‘आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिईनेछ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।