रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम सुरू भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार पाँच पुरूष, एक महिला, एक बालक, एक बालिका र एउटा पहिचान खुल्न नसकेको शवलाई पोखरा ल्याइएको हो । “चितवनमा भेटिएका शव पनि त्यहाँ व्यवस्थापन गर्न नसकिएपछि पोखरा ल्याउन लागिएको जानकारी प्राप्त भएको छ”, उनले भने, “हामी अहिले शव व्यवस्थापनको काममा खटिरहेका छौँ ।”
बुधबार बेलुका तनहुँको आँबुखैरेनी–४ देखि देवघाटसम्मको त्रिशूली नदी क्षेत्रका फेला परेका ती शवलाई परीक्षणका लागि भरतपुर पठाइएकामा त्यहाँका अस्पतालमा शव राख्ने ठाउँ नभएपछि पोखरा ल्याइएको हो । आँबुखैरेनीदेखि देवघाटसम्मको नदी क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी तथा निगरानी बढाइएको तनहुँ प्रहरीले जनाएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि सात हजार चार सय १५ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका तीन हजार तीन सय १८, नेपाली सेनाका दुई हजार तीन सय ५५ र सशस्त्र प्रहरी बल नेपालका एक हजार सात सय ४२ जना सुरक्षाकर्मी परिचालन भएको जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा हालसम्म दुई सय ३९ वटा हेलिकोप्टर उडानमार्फत खोज तथा उद्धार कार्य गरिएको पधिकरणले जनाएको छ । त्यसमध्ये नेपाली सेनामार्फत दुई सय ११ वटा र निजी क्षेत्रका हेलिकोप्टरबाट २८ जानाको उद्धार भएको छ ।
प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत व्यवस्थापनको कार्य निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ । विपद्पछि खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर परिचालन गरिएको छ । रासस

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ…





