पोखरा वडा नं. १६ र १९ मा मनोरञ्जनात्मक कार्यक्रम गर्न नपाईने


     एभरेस्ट आवाज    
     भाद्र १३ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नंं. १६ र १९ मा मनोरञ्जनात्मक खालका कुनै पनि कार्यक्रम गर्न रोक लगाईएको छ ।

बुधबार भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनासकारी बाढीले देशका बिभिन्न जिल्लामा जनधनको क्षति भएकोमा दुख व्यक्त गर्दै, दुवै वडा कार्यालयले वडाभित्र हुने मनोरञ्जनात्मक तथा हर्षोल्लासका कार्यक्रम नगर्न सुचना जारी गरेको छ । वडा कार्यालय पोखरा १६ र १९ ले शनिबार जारी गरेका छुट्टाछुट्टै सुचनामा मुलुक नै शोकाकुल रहेको अवस्थामा मनोरञ्जन तथा हर्षोल्लासका कार्यक्रम गर्न अनुपयुक्त हुने उल्लेख गरिएको छ ।

१६ नम्वर वडाका अध्यक्ष अमृत शर्मा तिमिल्सीनाले यस विषम परिस्थितीमा औपचारिक तथा अनौपचारिक मनोरञ्जनात्मक कार्यक्रम स्थगीत गरी बाढी प्रभावितको उद्धार तथा राहतमा खट्टिन आग्रह गरेका छन् । उनले प्रभावित परिवारको गाँस,बास र कपासका लागि आआफ्नो स्थानबाट सकारात्मक सहयोग र राहत संकलनमा जुट्न अपिल गरेका छन् । वडाध्यक्ष तिमिल्सीनाले मुलुक नै शोकाकुल रहेको अवस्थामा गरिने समुहगत तथा स्टेज कार्यक्रम उपयुक्त नहुने बताए । त्यस्तै वडा नं. १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले देश विपत्तीमा परेको यो अवस्थामा शोकको सामना गर्दै बाढी प्रभावित परिवारको उद्धार तथा राहत कार्यक्रममा सहभागी हुनुपर्नेमा जोड दिए ।

दुवै वडा क्षेत्रमा बिभिन्न पर्वलाई लक्षित गरी भदौं १९ गते श्रीकृष्ण राष्ट्रिय भजन प्रतियोगिता, २० गते तायामचा नृत्य तथा गाईजात्रा महोत्सव, भदौं २७ देखि २९ सम्म लामाचौर तीज महोत्सव र ऐतिहासिक बाटुलेचौर तीज मेलाको तयारी भईरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।