सरकारलाई विपक्षी दलको सन्देशः ‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’


     एभरेस्ट आवाज    
     भाद्र २५ गते २०८३ मा प्रकाशित




प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहितका विपक्षी दलहरूले राष्ट्रिय विपत्तिको अवस्थामा आफूहरू सरकारसँगै रहेको सन्देश दिएका छन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज भएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले भोटेकोशी बाढीपछिको खोज, उद्धार र राहतमा अहिलसम्म भएका काममा सरकारलाई धन्यवाद दिँदै प्रतिकार्यमा देखिएका कमीकमजोरी सच्याउन सरकारलाई सुझाव दिएको छ ।“काम गर्ने सिलसिलामा केही कमीकमजोरी रहे, सुरुआती दिनमै केही सरसल्लाह भएको भए कमजोरी देखिन्नथ्यो होला भन्ने बारेमा छलफल भयो,” बैठकपछि नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले जानकारी दिईन् ।

बैठकले प्रभावित नागरिकको उद्धार र राहतसँगै घरवारविहीनलाई तत्काल अस्थायी पुनःस्थापनाको काममा लाग्न सरकारलाई सुझाव दिएको छ । सरकारको अभियानमा विपक्षी दलका तर्फबाट सम्पूर्ण सहयोग गर्ने बैठकको निर्णय छ । “ठूलो विपत्तिको सामना गरिरहेका बेला राजनीतिक विषयलाई एकातिर पन्छाएर हामी एकाकार हुँदै विपत्तिको सामना गर्ने, विपद्मा परेका नागरिकको खोजउद्धार तथा प्रभावितलाई राहत, सहुलियत, साहनुभूति प्रकट गर्ने र सुविधा दिने काममा लाग्नुपर्छ,” उनले भनिन् ।

विपत्तिको सामना गर्न सरकारले अघि सारेका हरेक कदममा विपक्षीको साथ रहने उनले स्पष्ट पारिन् । बैठकमा प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे पनि छलफल भएको थियो। बैठकमा कांग्रेस, एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टीका संसदीय दलका पदाधिकारीहरू सहभागी थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।