बुद्ध सिंह बने कास्की जिल्ला भलिबल संघको अध्यक्ष


     एभरेस्ट आवाज    
     भाद्र २५ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ २५

कास्की जिल्ला भलिबल संघको अध्यक्षमा बुद्ध सिंह चयन भएका छन् । संघको विहीबार पोखरामा सम्पन्न २६ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि सिंहलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा सञ्जीव जिसी, उपाध्यक्षमा अनिल गुरुङ, महासचिवमा टंक पौडेल र कोषाध्यक्षमा सुन्दर श्रेष्ठ निर्विरोध निर्वाचित भए ।

त्यस्तै, सदस्यहरुमा प्रमिला अधिकारी, लक्ष्मी गुरुङ, बलराम तिमिल्सिना, सुविन गुरुङ (सोविन), उत्तमलाल श्रेष्ठ (रुपा गा.पा.) र योगेन्द्र गुरुङ (मादी गा.पा.) चयन भए ।

साधारण सभाले केन्द्रीय प्रतिनिधिमा अध्यक्ष बुद्ध सिंह र पर्यवेक्षकका रुपमा महासचिव टंकराज पौडेल तथा शरणकुमार प्रधान र बलराम तिमिल्सिनालाई प्रदेश प्रतिनिधिका रुपमा चयन गरेको छ ।

कार्यक्रमको उद्घाटन शत्रलाई सम्बोधन गर्दै नेपाल भलिबल संघका केन्द्रीय सल्लाहकार नारायणप्रसाद शर्माले खेलाडी उत्पादनमा ध्यान दिन जिल्ला संघलाई सुझाव दिए । कास्की जिल्ला भलिबलको उर्वर भूमि हो,उनले भने,‘कुनैबेला राष्ट्रिय टिममा कास्कीको बर्चस्व रहन्थ्यो, तर आज खस्किएको छ, त्यो खस्किएको खेल उकास्न नया नेतृत्व लागोस् ।’

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले खेलकुदका गतिविधि बढाउन संघलाई आग्रह गरे । भलिबलको आफ्नै भवन छ, खेल्ने मैदान र प्याराफिट छ,उनले भने,‘तर पर्याप्त गतिविधि नहुँदा खेलाडी घटेको छ, भएका खेलाडीले पनि एक्सपोजर पाएनन्, त्यसैले गतिविधि बढाउन संघले तदारुकता देखाओस् ।’

नेपाल भलिबल संघका बरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले कास्की जिल्ला भलिबल संघलाई आफ्नो नियमित सेड्यूल बनाएर प्रतियोगितालगायतका गतिविधि नियमित गर्न आग्रह गरे । ‘तालिका बनाएर गतिविधि भयो भने त्यसले खेलाडीलाई तयारी गर्न सजिलो हुन्छ, खेल पनि नियमित हुन्छ ।’

संघका निवर्तमान अध्यक्ष विष्णु गुरुङले संघको नया नेतृत्वलाई आफूले सक्दो सहयोग गरिरहने प्रतिबद्धता जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।