पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सभापति पदमा सरोज केसीले उम्मेदवारी घोषणा गरेका छन्। उनले संगठनलाई व्यवस्थित, सक्रिय र बलियो बनाउँदै कार्यकर्ता र आम मतदाताबीचको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताएका छन्।
असोज ८ गते जारी उम्मेदवारी घोषणा पत्रमा केसीले आफूले लामो समयदेखि संगठनमा काम गर्दै आएका साथीहरू, अग्रज नेता तथा शुभेच्छुकसँगको छलफल र सुझावपछि सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको उल्लेख गरेका छन्।
उनले कास्की क्षेत्र नं. १ मा पार्टीको संगठनलाई व्यवस्थित, सक्रिय र बलियो बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्। नेतृत्व तहदेखि आधार तहका कार्यकर्तासँग नियमित संवाद गर्ने र संगठनका गतिविधिलाई निरन्तरता दिने वातावरण बनाउने प्रतिबद्धता उनले जनाएका छन्।
सभापतिको जिम्मेवारी पाए संगठनलाई केही व्यक्तिको पहुँचमा सीमित नराखी सबै कार्यकर्ताका लागि समान रूपमा खुला र सहज बनाउने उनले बताएका छन्। वडा तहदेखि क्षेत्रीय तहसम्म संगठनका गतिविधि नियमित बनाउने, युवालाई जिम्मेवारी दिने, महिलाको सहभागिता बढाउने तथा अनुभवी अग्रजको अनुभवलाई संगठन निर्माणमा जोड्ने विषयलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ।
विचार र नेतृत्वका विषयमा फरक मत हुनु स्वाभाविक रहेको भन्दै केसीले फरक मतलाई सम्मान गर्ने वातावरण नै लोकतान्त्रिक पार्टीको पहिचान भएको बताएका छन्। महाधिवेशनको प्रतिस्पर्धालाई व्यक्तिगत सम्बन्ध र संगठनात्मक एकतासँग नजोड्ने बताउँदै उनले निर्वाचन एउटा प्रक्रिया भएकाले त्यसपछिको साझा जिम्मेवारी सबैको हुने उल्लेख गरेका छन्।
केसीले आफ्नो उम्मेदवारी कसैको विरोधमा नभई कास्की क्षेत्र नं. १ को कांग्रेसलाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रस्तुत गरेको बताएका छन्।
उनले नयाँ पुस्तालाई संगठनमा जोड्ने, कार्यकर्तामा भरोसा बढाउने र जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउने चुनौती रहेको उल्लेख गर्दै नेतृत्वले निर्देशन दिनुभन्दा पहिले कार्यकर्ताको अवस्था बुझेर जिम्मेवारी पूरा गर्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता हुने बताएका छन्।
स्थानीय समस्या र विकासका विषयमा पनि संगठन सक्रिय हुनुपर्नेमा जोड दिँदै उनले जनताले भोगिरहेका समस्यालाई स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म राजनीतिक रूपमा उठाउने तथा समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले आफ्नो उम्मेदवारीलाई केवल व्यक्तिको उम्मेदवारीका रूपमा नलिई संगठनभित्र जिम्मेवारी, सहभागिता र नयाँ कार्यशैलीको प्रयासका रूपमा बुझिदिन क्षेत्रीय प्रतिनिधि, सक्रिय सदस्य, नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सभापति पदमा सरोज…






