पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको वरिष्ठ नेतामा चयन, स्थायी कमिटीमा ७ जना थप (सूचीसहित)


     एभरेस्ट आवाज    
     असाेज ८ गते २०८३ मा प्रकाशित




नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिईएको छ ।

केन्द्रीय कमिटीको बैठकअघि आजै भएको सो पार्टीको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीसहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो । पार्टीका पूर्वउपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्यता दिने÷नदिने विषयमा आन्तरिक बहस चलेकामा हाल सर्वम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको छ । एमालेका सचिव हिक्मत कार्कीले भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने र उहाँको राजनीतिक तथा साङ्गठनिक अनुभवले पार्टीको आगामी कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बैठकपछि प्रतिक्रिया दिँदै सचिव पद्मा अर्यालले भण्डारीजस्तो अनुभवी र सम्मानित नेतालाई सदस्यता दिइसकेपछि विशुद्ध पार्टी सदस्य बनाएर मात्रै राख्न उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिइएको बताईन् । बैठकले २९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। मनोनीत हुनेमा काशीनाथ अधिकारी, देवराज घिमिरे, बिमला धिमिरे, शिवमाया तुम्बाहाम्फे, हरि घिमिरे, प्रेम डंगाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, शान्तिलाल महत, नन्दलाल देवकोटा, पाल्तेन शेर्पा, बिनोद पाण्डे, पुष्पा श्रेष्ठ, जानुका सिम्खडा र कौशला खती छन्। त्यस्तै मोहम्मद इस्तियाक राई, प्रमोद यादव, डा। अब्दुल हुसैन, भवानी खापुङ, दीपक साउद, जया गोले, बाबी चाम्लिङ, श्रीप्रसाद शर्मा, धर्म निरौला, धुर्वराज विष्ट, अर्जुन राई, धर्म गिरी र जी। गुरुङ पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।त्यस्तै स्थायी कमिटी सदस्यहरूमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारी छन् ।

सचिव महेश बस्नेतले केन्द्रीय कमिटीको बैठक सौहार्दरुपमा सम्पन्न भएको उल्लेख गर्दै ‘नेतृत्व र पार्टीमाथि भएको हमलालाई निराश’ बनाउँदै पार्टीलाई एकताबद्ध तथा उत्साहित बनाउँदै बैठक सम्पन्न भएको जिकिर गरे । उनले विघठित प्रतिनिधिसभाको पुनःस्थापनाको मुद्दामा न्यायालयबाट छिटो र उपयुक्त निर्णय आउने आशा व्यक्त गरे । यही असोज ५ गतेदेखि जारी केन्द्रीय कमिटीको बैठक आज सकिएको छ । केन्द्रीय कमिटीको बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।